मृत्यु भइसकेका मान्छेको वृद्धभत्ता आफु कुम्ल्याउने वडाध्यक्ष अख्तियारको फन्दामा
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता बुझेको आरोपमा एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो ।
शारदा नगरपालिका वडा नम्बर ३ मा मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण भइरहेको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा तत्कालीन वडाध्यक्ष थापाले अस्तित्वमा नभएका व्यक्तिको नामको ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बुझेको पाइएको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।