परामर्श व्यवसायमा धरौटी आवस्यक छैन : कानूनमन्त्री गीरी

सोमबार, ५ चैत्र २०८०

काठमाडौं – कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गीरीले शैक्षिक परामर्श व्यवसायमा धरौटी आवस्यक नभएको बताएका छन् ‌‌। वान अपले आयोजना गरेको ‘इक्यान एडुक्लेभ २.ओ’लाई सम्बोधन गर्दै उनले सानो ब्यवसायमा धरौटी आवस्यक नभएको बताएका हुन् ।

शैक्षिक परामर्श क्षेत्र म्यानपावर जस्तो नभएको बताउँदै यसमा धरौटी हुँदा झन् समस्या उत्पन्न हुने बताए । ‘कन्सलटेन्सीले विदेशमा पढ्नका लागि पठाउने हो । पढ्न पठाउने कन्सल्टेन्सीलाई धरौटीले बाध्नु राम्रो होइन ।’, उनले भने, ‘बरू विदेशमा अध्ययनका लागि गएका विद्यार्थीलाई समस्या भएको खण्डमा कन्सल्टेन्सीले अपनत्व लिनुपर्ने हुन सक्छ ।’

उनले विदेशमा गएर पढ्न पाउनु नेपालीहरूको अधिकार भएको भन्दै त्यसलाई रोक्न नहुने बताए । उनले नेपाली विद्यार्थीलाई रोक्न नेपालका विद्यालयलाई सवल बनाउनुपर्ने जिकिर गरे । साथै उनले शैक्षिक परामर्श क्षेत्रमा छुट्टै ऐन आवस्यक भइसकेको बताए ।

उनले नयाँ ऐन बनाउनका लागि परामर्श गर्ने बताए ‌‌‌‌। मन्त्री गीरीलाई पत्रकार निमा काफ्लेले सहजिकरण गरेकी थिइन् ।