राजस्व अनुसन्धान विभागले सुरु गर्यो एकैपटक पाँच ठूला अनुसन्धान, क–कसको भयो भागाभाग ?
काठमाडौँ – राजश्व अनुसन्धान विभागले एकै चोटी पाँच ठूला अनुसन्धान सुरु गरेको छ । विभागले एनक्यु ट्याक्स र नो शो भएका टिकटबाट उठाइएका कर, क्रिप्टोकरेन्सी कारोबार, कोटिभिटी कारोबार, युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको करछली र अवैध चोरी पैठारी विरुद्ध विभागले अनुसनधान सुरु गरेको हो ।
श्रोतका अनुसार एनक्यु ट्याक्स र नो शो का विभिन्न एयरलाइन्स कम्पनीहरूले उठाएको, ग्राउण्ड ह्याडलिङ चार्ज र एयरपोर्ट चार्जको सबै रकम राजश्व खातामा जम्मा नगरी केही रकम मात्रै जम्मा गरिएको पाइएपछि अनुसन्धान सुरु भएको हो । यसरी एनक्यु ट्याक्स र नो शोको रकम जम्मा नगर्ने एयरलाइन्स कम्पनीमा एयर अरेबिया, जजिरा एयर, सलाम एयर, इण्डिगो एयर, थाइ लायन, एयर एसिया, फ्लाई दुबई र स्पाइस जेट लगायत रहेका छन् ।
के हो एनक्यु ट्याक्स ?
नेपालको पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि भन्दै सरकारले विदेशी पर्यटकबाट १ हजार १३० रुपैयाँ उठाउने गरेको छ । पर्याटन कर एयरलाइन्सको टिकटमा नै समावेश हुने गरेको छ । सोही पर्यटन सेवा शुल्क पर्यटकबाट सोझै उठाउने नभई नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने पर्यटकले यात्रा गरेको रेकर्डको आधारमा एयरलाइन्स कम्पनीहरूले नै तिर्नुपर्ने व्यवस्था गरिएको थियो । उक्त रकम नेपाल पर्यटन बोर्डको खातामा सोझै आउने गरेको थियो । मुख्यतः नेपालको पर्यटन प्रवर्द्धन र पर्यटन पूर्वाधार निर्माणका लागि भन्दै सरकारले लिने गरेको उक्त शुल्क विदेशी पर्यटक नेपालको विमानस्थलबाट उडेर अन्य मुलुकमा जाँदा मात्रै लाग्ने गर्दछ । नेपाल सरकारले आफ्नो नीतिमा उक्त रकम एयरलाइन्स कम्पनीहरूले नै सोझै बुझाउनुपर्ने नीति बनाएको थियो । तर सबै एयरलाइन्स कम्पनीहरूले एनक्यु ट्याक्स पूर्णरुपमा नबुझाएको र नेपाली यात्रुसँग पनि एनक्यु ट्याक्स उठाएर आफैँले राखेको सूचना आएपछि राजश्व अनुसन्धान विभागले सो सम्बन्धमा पत्र नै काटेर अनुसन्धान सुरु गरेको हो ।
के हो ‘नो शो’ ?
एयरलाइन्स कम्पनीहरूले टिकट विक्री गरेको तर विशेष कारणले यात्रु नउडेको अवस्थालाई नो शो भन्ने गरिएको छ । एयरलाइन्सहरूले टिकट विक्री गर्दा नन रिफण्डेबल टिकट विक्री गर्ने र उक्त टिकट विक्री गरी कुनै यात्रु उड्न नपाएको अवस्थामा उनीहरूको एयरपोर्ट ट्याक्ससमेतको रकम फिर्ता नहुने गरेको भन्दै नो शो बापत एयरलाइन्स कम्पनीहरूले राखेको करबापतको रकमको समेत खोजी सुरु गरिएको हो ।
अहिले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जाने यात्रुले विमानस्थल कर, ग्राउण्ड ह्याण्डलिङ कर आदि सबै जोड्दा औसतमा ३ हजार ६ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । यो रकम बजेट एयरलाइन्स र अन्य सबै एयरलाइन्सले समेत तिर्नुपर्छ । तर यात्रु कुनै कारणबस उड्न पाएनन् भने उक्त रकम एयरलाइन्स कम्पनीहरूले तिर्नु पर्दैन । यदि ग्राहकले दाबी गरेमा उक्त रकम ग्राहकलाई नै फिर्ता गर्नुपर्ने हुन्छ । तर ग्राहकलाई फिर्ता नगरेको अवस्थामा उक्त रकम एयरलाइन्स कम्पनीहरूसँग नै रहेको हुन्छ ।
राजश्व अनुसन्धान विभागका अनुसार एनक्यु ट्याक्सका नाममा उठाइएको रकम र नो शो समेतको वर्षौँदेखिको रकम जोड्ने हो भने करिब ३० अर्ब पुग्ने अनुमान छ । नो शो रकम सबैभन्दा बढी कतार एयरवेजसँग रहेकोसमेत अनुमान गरिएको छ । कतार एयरवेजका एजेण्टहरु अनुसन्धान रोक्न प्रधानमन्त्री कार्यालयसम्म पुगेको श्रोतको भनाई छ ।
क्रिप्टोकरेन्सीमा पनि अनुसन्धना
राजश्व अनुसन्धान विभागले पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोबारलाई समेत हेरेर राजश्व छलीमा कारबाही तीव्र बनाएको छ । विभागले यसअघि नै पक्राउ गरी मुद्दा चलाइरहेको नरेश अग्रवालसहितका व्यक्तिहरूको क्रिप्टोकरेन्सीको कारोबारलाई आधारमा लिई अन्य व्यक्तिहरूको संलग्नताको समेत खोजी गरिरहेको छ ।
यतिबेला क्रिप्टोकरेन्सीको कारोबारका सम्बन्धमा विभागले विवादित व्यापारी नरेश अग्रवाल र अमोरिद्धिन भन्ने व्यक्तिलाई विभागकै कष्टडीमा राखेर अनुसन्धान गरिरहेको छ । हालसम्मको अनुसन्धानमा अमोरिद्धिन भन्ने व्यक्ति अवैध क्रिप्टो, हुण्डी र सुन तस्करीमा ठुलो बिचौलिया रहेको तथ्यहरू फेला परेको र त्यस सम्बन्धमा गहन अध्ययन भइरहेको छ ।
विभागका अनुसार क्रिप्टोकरेन्सीको अवैध कारोबारको कसुरमा अनुसन्धान भइरहेका विवादित व्यापारी नरेश अग्रवालले हुण्डिको समेत कारोबार गरेको पाइएको छ । अग्रवालको एउटै कारोबार एक करोड डलरसम्मको भएको पाइएको विभागले दाबी गरेको छ । राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार सुरुमा ल्याउँदा नरेश अग्रवाल सामान्य व्यक्ति होला जस्तो लागेको भएपनि मोबाइलको डिफएल रिपोर्ट हेर्दा एउटै कारोबार १ करोड डलरसम्मको गरेको भेटिएको थियो ।
अवैध हुण्डी र क्रिप्टोकरेन्सीमा संलग्न रहेको पाइएका व्यापारी नरेश अग्रवाल सुनको अवैध चोरी पैठारीमा संलग्न रहेको पाइएको समेत विभागले जनाएको छ । उनले एकैपटक कारोबार गरेको एक करोड डलर सुनको तस्करीसँग सम्बन्धित रहेको विभागको दाबी रहेको छ । यद्यपि त्यस विषयमा अनुसन्धान भइरहेकाले अहिले नै थप केही बताउन नमिल्ने विभागको भनाई छ ।
कोटिभिटीविरुद्ध मुद्दा दायर हुँदै
राजश्व अनुसन्धान विभागले पछिल्लो समय अनलाइन बिजनेस गरेर भ्याट छली गर्ने संस्था र कम्पनीका सम्बन्धमा पनि अनुसन्धानलाई तीव्रता दिएको छ । अनलाइन बिजनेस गरेर भ्याट नतिर्ने, भ्याट रिफण्ड लिने, ओनरशीप चेञ्ज हुँदा क्यापिटल चेञ्ज नगर्ने र क्यापिटल गेन ट्याक्स नतिर्ने लगायतका कम्पनीमाथि अनुसन्धान गरिरहेको छ । त्यसमा मुख्यतः अनलाइन सफ्टवेयर बनाउने कम्पनीहरूमाथि विभागको अनुसन्धान केन्द्रित रहेको छ ।
विभागले अनलाइन सफ्टवेयर बनाउने कम्पनी कोटिभिटीका राजश्व छलीका सम्बन्धमा अनुसन्धान सकेर रायका लागि सरकारी वकिल कार्यालयमा लेखि पठाइएको छ । कोटिभिटीले विभिन्न शीर्षकको राजश्व छली गरेको कारण उक्त संस्थाविरुद्ध करिब ५ अर्बको बिगो कायम गरी मुद्दा दायर गर्ने तयारी भएको छ । सरकारी वकिल कार्यालयबाट राय आएसँगै उसका विरुद्ध मुद्दा दायर गर्ने तयारी रहेको भएको बताइएको छ ।
युनाइटेड वर्ल्ड ट्रेडपन फन्दामा
राजश्व अनुसन्धान विभागले गैरकर राजश्व छली गरेको कसुरमा केही व्यावसायिक संस्थामाथि समेत अनुसन्धान अगाडि बढाएको पाइएको छ । गैरकर राजश्व सङ्कलनमा सार्वजनिक सम्पत्ति लिजमा लिने, न्यून मूल्य कायम गर्ने, राज्यलाई तिर्नुपर्ने दायित्व नतिर्ने, नबुझाउने र जस्केलाबाट छिरेर त्यो सम्पत्तिको नवीकरण गर्नतिर लाग्ने प्रवृत्तिका विरुद्ध अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको विभागले दाबी गरेको । यस्तो गैरकर राजश्व छलीमा संलग्न रहेको आशङ्कामा युनाइटेड वर्ल्ड ट्रेड सेन्टर लगायतका संस्थामाथि अनुसन्धान सुरु भएको छ ।
अवैध चोरी पैठारीमा विभागको निगरानी
राजश्व अनुसन्धान विभागले चोरी पैठारीको सामान र अवैध आयाततर्फ पनि आफ्नो अनुसन्धानलाई तीव्र बनाएको पाइएको छ । विभागकै सिस्टम भीसीटीएसको अनुसन्धानको आधारमा कम सामान ल्याएर धेरै रकमको विक्री गर्ने, भन्सार छली गरी ल्याएको सामानको विक्री वितरण गर्ने कम्पनीहरूमाथि अनुसन्धान बढाइएको विभागले जनाएको छ ।
विभाग श्रोतका अनुसार चोरी पैठारी र अवैध आयाततर्फ केन्द्रित भएर भन्सार केन्द्रित जोखिमका वस्तु र जोखिमका नाकाहरुमा केन्द्रित रही अवैध व्यापार र कालो व्यापारलाई नियन्त्रण गर्नतर्फ अनुसन्धान अगाडि बढाइएको छ । विभागले केही दिन अघि मात्रै अवैध आयात र भन्सार छलीको कसुरमा सन्दीप ट्रेडर्सका सञ्चालिका विमलावती देवी चौधरी कुर्मी र त्यसका मुख्य कारोबारी दयाशंकर चौधरीमाथि १२ करोड बिगो कायम गरी मुद्दा समेत चलाइसकेको छ ।