यसकारण भएको रहेछ ललितपुर हत्याकाण्ड, खुल्यो अर्को रहस्य
काठमाडौँ – ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा चक्कु प्रहारबाट भएको हत्या प्रकरण को अर्को रहस्य खुलेको छ। प्रारम्भिक अनुसन्धनमा ग्याङ्ग फाइट भनिएतापनि पछि आपसी विवादका कारण घटना घटेको भन्ने खुलेको थियो । तर प्रहरीले हत्यामा संग्लाग्नालाई पक्राउ गरेर अनुसन्धान गरेपछि अर्को रहस्य खुलेको हो ।
गत तिहारदेखी साहिल श्रेष्ठ र छेङ्गवीहाङ राईको बिचमा विवाद सुरु भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘साहिल श्रेष्ठले छेङ्गवीहाङलाई होच्याएको विषयमा विवाद सुरु भएको देखिन्छ,’ एसएसपी खनाल भन्छन्–‘दुई महिनाअघि पनि विवाद भएको र सो विवाद हत्यासम्म पुगेको देखिन्छ ।’
चक्कु प्रहारबाट सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको हो । रोबसको कोखमा र पुजनको तिघ्रामा चोट लागेको थियो ।
हत्यामा संलग्न आरोपमा रेस्टुरेन्ट सञ्चालक खोटाङ घर भएका ३१ वर्षीय विजय राई, अर्का सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुर घर भएका ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर घर भएका २५ वर्षीय छेङ्गवीहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न एक जना फरार रहेको ललितपुरका एसएसपी शेखर खनालले बताए ।
छुरी प्रहारपछि पुजनलाई सुमेरु अस्पताल र रोबसलाई पाटन अस्पतालमा पुर्याइएको थियो । अस्पतालबाट घटनाबारे खबर आएपछि अनुसन्धान अधिकृतहरू आरोपीहरूको खोजीमा जुटेका थिए । करिब ६ घण्टामा हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
त्यसबेला घटनास्थलमा उपस्थित थप ८ जना प्रहरीको नियन्त्रणमा छन् । उनीहरूमाथि पनि अनुसन्धान भइरहेको एसएसपी खनालले जानकारी दिए । तिहारमा विवाद गर्ने २९ वर्षीय साहिल श्रेष्ठ सुनसरीको धरान उपमहानगरपालिका–६ घर का स्थानीय हुन् । ललितपुर–१४ सोभाहिटी बस्ने उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।