आयरल्यान्डलाई हराउँदै नेपालले निकाल्यो सानदार जित

मंगलबार, १३ चैत्र २०८०

काठमाडौँ – दोस्रो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनको फराकिलो अन्तरले हराएको छ । शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले भने १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २७ रनमात्र बनाउन सक्यो ।

आयरल्यान्डलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर सोमपाल कामी र कुशल मल्लले तीन–तीन विकेट लिए । सोमपालले २।३ ओभरमा १७ रन खर्चिए । कुशल मल्लले तीन ओभरमा १५ रन खर्चिएका थिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले पनि एक–एक विकेट हात पारे ।

आयरल्यान्ड ‘ए’ का लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए । मोर्गन टपिङले पनि टोलीको खातामा २१ रन थपे । आयरल्यान्डका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर रोस एडिर र कप्तान निल रकले पनि १७–१७ रन बनाए ।

पहिले ब्याटिङ गरेको नेपालका लागि भने गुलसन झाले ४६ रनको योगदान गरेका थिए । कुशल मल्लले ३४ रन जोडे । कप्तान रोहित पौडेलले पनि ३३ रन बनाए । ओपनर कुशल भुर्तेलले टोलीको खातामा २५ रन थपे । अनिल साह १२ र ओपनर आसिफ शेख ११ रनमा आउट भए ।

सन्दीप जोराले २१ रन बनाए । विवेक यादव सात रनमा अविजित रहे । नेपालले अतिरिक्त रूपमा नौ रन पायो । आयरल्यान्ड ‘ए’ का बलर म्याथ्यु फोष्टरले तीन विकेट लिए । बेन ह्वाइटले दुई विकेट हात पारे । गाभिन होए र फियोन ह्यान्डले पनि एक–एक विकेट हात पारे ।

आयरल्यान्ड ‘ए’ ले एकपछि अर्को गर्दै आफ्ना दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएको थियो । आयरल्यान्ड ‘ए’ को पहिलो विकेट सोमपाल कामीले लिएका काथिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए ।

विकेटकिपर ब्याट्सम्यान स्टेफनले पेभेलियन फर्किनुअघि १३ बलमा एक छक्का र चार चौकाको मद्दतले २६ रन बनाएका थिए । पाँचौँ ओभरको अन्तिम बलमा स्टेफन आउट हुँदा आयरल्यान्डले ४३ रन बनाएको थियो ।

त्यसलगत्तै आयरल्यान्डले आफ्नो दोस्रो विकेट गुमाएको थियो । आयरल्यान्डको दोस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान रोस एडिर १७ रनको ब्यक्तिग स्कोरमा गलसन झाद्वारा क्याच गराएका थिए । ५।२ ओभरमा रोस आउट हुँदा आयरल्यान्डले ४३ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट कुशल भुर्तेलले लिएका थिए । उनले आयरल्यान्डका तेस्रो नम्बरका ब्याट्सम्यान केड कार्मिचललाई १८ रनको व्यक्तिगत स्कोरमा अनिल साहद्वारा क्याच गराएका थिए । ११।१ ओभरमा केड आउट हुँदा आयरल्यान्डले ७५ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को चौथो विकेट करण केसीले लिएका थिए । उनले आयरल्यान्डका कप्तान निल रकलाई १७ रनको व्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान रकले ११ बलमा दुई छक्का पनि हिर्काएका थिए । १४।१ ओभरमा उनी आउट हुँदा आयरल्यान्डले एक सय रन बनाएको थियो ।