अझैं सुल्झिएन रेशन–रञ्जिताको घर झगडा, आजै हुनेछ वारकी पार

बुधबार, १४ चैत्र २०८०

कैलाली – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्षसमेत रहेकी उनकी श्रीमति रञ्जिता श्रेष्ठ चौधरीबिचको विवादले उग्र रुप लिँदा नागरिक उन्मुक्ति पार्टीमा कलह बढेको छ । श्रीमान् श्रीमतिको घर झगडाका कारण भर्खर जन्मिएको नागरिक उन्मुक्ति पार्टी समस्यामा परेको छ । यस समस्या समाधानका लागि आज सो पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

सरकारमा सहभागिताको विषयमा भएको घर झगडा साम्य पार्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यहरुको बैठक कैलालीको टीकापुरमा बसेको हो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नाउपाका संस्थापक र सांसदहरुको बैठक बसिरहेको हो ।

बैठकमा संस्थापक २१ जना र सांसद १६ जना सहभागी छन् । संरक्षक रेशम चौधरी भने विदेशमा रहेकाले यो बैठकमा सहभागी छैनन् । यो बैठकले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे निर्णय लिने अध्यक्ष चौधरीले जानकारी दिइन् ।

एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा अध्यक्ष रञ्जिता र उनका श्रीमानसमेत रहेका संरक्षक रेशम चौधरीबीच विवाद छ । रेशमको स्वीकृतिमा नाउपा सुदूरपश्चिम र लुम्बिनी सरकारमा सहभागी छ । तर रञ्जिता भने सरकारबाट फिर्ता हुनुपर्ने र नयाँ सत्ता समीकरणमा सहभागी हुनुपर्ने पक्षमा छिन् ।

नाउपाका एक जना संस्थापक केन्द्रीय सदस्य रमेश विकले आजको बैठकले प्रदेश सरकारबारे आगामी मार्ग तय गर्ने बताए । केन्द्र सरकारमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको नियुक्तिलाई पूर्णता दिइसकेका छन् । केन्द्रको २५ सदस्यीय मन्त्रिपरिषदमा अब एक जना राज्यमन्त्री मात्र नियुक्त गर्न बाँकी छ ।