एसइई परीक्षाको पहिलो दिन नै १० निरीक्षक निष्काशित, यस्तो छ खास कारण

बिहिबार, १५ चैत्र २०८०

काठमाडौँ – सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन्। आजदेखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको हो।

कारबाहीस्वरुप उनीहरूलाई जारी एसइईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुखले  जानकारी दिएका हुन् ।

कारबाहीमा पर्ने निरीक्षक जिल्लाका दक्षिणी क्षेत्रका परीक्षा केन्द्रका रहेका जनाइएको छ। गोडैता नगरपालिकास्थित बेणीभोला माध्यामिक विद्यालय, जनता नमूना माध्यामिक विद्यालय, जनता मावि रामवन र बलरा नगरपालिकास्थित रामसखी मोहितसिंह मावि, जनता मावि, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माविका परीक्षा केन्द्रका निरीक्षकलाई कारबाही गरिएको जिल्लास्तरीय परीक्षा समन्वय समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

यसैबीच जिल्लामा छिटफुटबाहेक पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्लास्तरीय परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिए। ‘परीक्षा विगतको तुलनामा निकै मर्यादित बनेको छ,’ उनले भने, ‘हामीले सुरक्षा तथा अनुगमनलाई निकै चुस्त बनाएका छौँ।’

यस वर्ष सर्लाहीबाट एसइईमा १० हजार आठ सय ९६ परीक्षार्थी सहभागी भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइका अनुसार छ हजार सात सय ८३ छात्रा र चार हजार एक सय १३ छात्रले परीक्षा दिइरहेका हुन्। एक सय ५८ जनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन लागेका हुन्। जिल्लाका एक सय पाँच सामुदायिक र ४५ संस्थागत विद्यालयका छात्रछात्राले एसइईमा सहभागिता जनाएका छन्।