प्रचण्डकी बुहारीका कारण सुदूरपश्चिम माओवादीमा बबण्डर
काठमाडौँ – वरिष्ठ नेताहरूलाई बाइपास गरी केन्द्रीय सदस्य बीना मगरलाई सहइन्चार्ज बनाएको भन्दै नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिमा बबण्डर भएको छ ।
फागुन १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्ज र वरिष्ठ नेताहरूलाई बाइपास गरी केन्द्रीय सदस्य बीनालाई सहइन्चार्जको जिम्मेवारी दिएपछि माओवादी केन्द्र सुदूरपश्चिममा बबण्डर भएको हो ।
उक्त निर्णयमा असहमति जनाउँदै स्थायी समिति सदस्य खगराज भट्ट बैठकबाट बाहिरिएका थिए ।
फागुन १६ देखि चर्किएको विवाद चर्किँदै गएको नेताहरू बताउँछन् । विवाद समाधानका लागि इन्चार्ज पोखरेलले सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारी लगायत नेताहरूसँग परामर्श गरेका थिए । जसअनुसार तीन पटकसम्म विभिन्न तहका नेतासँग छलफलका लागि बसेको प्रदेश सचिवालयको विस्तारित बैठक पाँच जना केन्द्रीय सदस्यसहित अधिकांश सचिवालय सदस्यहरूले बहिस्कार गरेको एक नेताले जानकारी दिए ।
चैत १५ गते सुदूरपश्चिममा कार्यरत केन्द्रीय सदस्यको नेतृत्वमा प्रदेश सचिवालयको बैठक बसेको थियो । ती नेताका अनुसार बैठकमा वीरमान चौधरी, हरि ज्ञवाली, भगत बडुवाल, हेमराज भट्टराई, नेपबहादुर चौधरी अनुपस्थित रहे । सुदूरपश्चिममा ४४ केन्द्रीय सदस्य १४ वैकल्पिक गरी ५८ जना रहेका छन् ।
त्यसको दोस्रो दिन प्रदेश पदाधिकारी र पार्टी केन्द्रीय सदस्यहरूको बैठक प्रदेश इन्चार्ज पोखरेल र सहइञ्चार्ज मगरको उपस्थितिमा बसेको थियो । यस्तै शनिबार पनि प्रदेश इन्चार्ज पोखरेलको रोहबरमा प्रदेश अध्यक्ष हरिराम चौधरीले सचिवालयको बैठक बोलाएका थिए ।