दलाल पूजीवाद र भूमण्डलीकृत पुजीवादलाई परास्त पार्ने एकमात्र अस्त्र एकीकृत जनक्रान्ति हो: विकल्प सी
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विकल्प सीले देश चौतर्फी संकट भएकोले देशको संकटको समाधान समाजवादले गर्ने बताए । तर १९औं र २०औं शताब्दीको ज्ञानले नहुने ठोकुवा गरे । युवा संगठन नेपाल रामेछाप( D1) को प्रथम जिल्ला सम्मेलनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
२१औं शताब्दीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हल एकीकृत जनक्रान्तिले मात्र गर्ने बताए । एकीकृत जनक्रान्तिले राष्ट्रिय रुपमा दलाल पूजीवाद र बहुध्रुवीय विश्व विशेषताको भूमण्डलीकृत पुजीवादी परास्त गर्ने लक्ष्य लिएको छ । एकीकृत जनक्रान्तिले राष्ट्रिय मुक्ति र जनमुक्तिलाई विजयमा पुर्याउने स्पष्ट पारे ।
अहिले देशमा क्रान्ति र प्रतिक्रान्तिको बिच, पुजीवादी र समाजवादको बिच र दलाल वर्ग र श्रमजीवी वर्गको बिच चर्को संघर्ष चलिरहेको बताउँदै देश र श्रमजीवी वर्गको हित लाग्न युवाहरुलाई अपिल गरे । रामेछापबासी न्यायप्रेमी जनसमुदायले सत्य र क्रान्तिको पक्षमा विगतमा गरेको योगदानको उच्च प्रसंसा गर्दै धन्यवाद दिए ।
महान जनयुद्धमा १२० जना भन्दा बढि र एकीकृत जनक्रान्तिमा राम कुमार श्रेष्ठको बलिदानले यहाँको क्रान्तिकारी आन्दोलनलाई नयाँ उचाइमा पुर्याएको बताए । रामेछाप जिल्लाले पुष्पलाल जस्तो महान व्यक्तित्व जन्माएको र क्रान्तिमा रगत सयौंले बलिदान गरेको भूमि भएकोले देवकोटा चोकमा उभिएर महान शहिदको स्मरण गर्दै उनको सपना पूरा गर्ने संकल्प गर्न पाउँदा गर्व महसुस भएको बताए ।