गृह मन्त्रालयको आङ सिरिङ्ग हुनेगरि भेटियो यतिठूलो संख्यामा निजी हतियार
काठमाडौँ – निजि प्रयोजनका लागि इजाजत लिएको हतियारको संख्या देखेर गृह मन्त्रालय झस्किएको छ। देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयले निजी हतियार राख्न दिइएको इजाजतको विवरण गृह मन्त्रालयले अध्ययन गर्दा झस्किएको हो।
निजी प्रयोजनका करिब ३६ हजार हतियार राख्न स्थानीय प्रशासनहरूले इजाजत पत्र जारी गरेको बताइएको छ । ‘सङ्ख्या ठ्याक्कै भन्न मिल्दैन, तर ठुलै सङ्ख्यामा व्यक्ति र संस्थाले हतियार राख्ने अनुमति लिएको गृहका सूचना अधिकारीले बताए।
विवरण प्राप्त भएपछि मन्त्रालयमा निजी हतियार राख्न दिँदा हुने खतराबारे छलफल चलिरहेको छ । ‘हामीले नियन्त्रित रूपमा आवश्यकता र अवस्था हेरेर मात्र निजी हतियार राख्ने अनुमति दिने गरी कानुनमा सुधार गर्नुपर्ने देखेका छौँ,’ अधिकारीले भने ।
राज्यले नै नागरिकको सुरक्षा गर्ने सुनिश्चितता भएकाले निजी हतियार राख्न दिने सरकारी नीति पुनरावलोकनको आवश्यकता देखिएको हो ।
यसरी नयाँ नीति निर्माणका क्रममा निजी सुरक्षा कम्पनी, बैङ्क तथा वित्तीय संस्था र कूटनीतिक नियोगले निजी हतियार राख्नेबारे सोच्न सकिने तर अन्यका हकमा कडाइ गर्नु पर्नेबारे मन्त्रालयले आन्तरिक रूपमा प्रारम्भिक छलफल चलाइरहेको छ ।