अबदेखि दैनिक १२ घण्टा लोडसेडिङ हुने
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले देशभरिका उद्योगहरूमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न सुरु गरेको छ । १ अप्रिलदेखि भारतको खुला बजारबाट रातिको समयमा विद्युत् आयात बन्द भएपछि प्राधिकरणले उद्योगहरूमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न सुरु गरेको हो । कुनै–कुनै क्षेत्रमा १५ घण्टासम्म पनि लोडसेडिङ भइरहेको हो ।
भारतले मार्च अन्तिममा विद्युत् आयातसम्बन्धी सम्झौता नवीकरण गर्दा खुला बजारबाट दिनको समय मात्रै विद्युत् आयात गर्न पाउने किसिमको व्यवस्था गरेको छ । रातको समयमा नेपालले ग्यासबाट उत्पादित विद्युत् मात्रै आयात गर्न पाउँछ, जुन खुला बजारभन्दा महँगो पर्न जान्छ । ग्यासबाट उत्पादित विद्युत् प्रतियुनिट ८ देखि १० भारुसम्म पर्छ ।
महँगोमा विद्युत् आयात गरेर नेपालमा वितरण गर्नुभन्दा प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गरेको हो । ‘भारतबाट राति विद्युत् किन्दा महँगो पर्ने भन्दै मुलुकलाई अँध्यारोमा राख्ने विकल्प प्राधिकरणले रोजेको छ,’ एक उद्योगीले भने । ‘उद्योगहरूमा त दिनको कम्तीमा १२ घण्टा लोडसेडिङ भइरहेको छ, तर कुन बेला बत्ती जान्छ भनेर प्राधिकरणले अग्रिम जानकारी गराउँदैन,’ उनले भने, ‘सामान्यतया साँझ ६ देखि बिहान ६ बजेसम्म विद्युत् गइरहेको छ ।’ तर, कुनै क्षेत्रमा मध्यरात १२ देखि दिउँसो १२ बजेसम्म, कुनैमा साँझ ६ देखि बिहान ९ बजेसम्म पनि लोडसेडिङ भइरहेको उद्योगी बताउँछन् ।
अहिले पिक समयमा १ हजार ८ सय ३३ मेगावाट विद्युत् माग रहेको प्राधिकरणले जनाएको छ । तर, दिनको समयमा कुल विद्युत् आपूर्ति १ हजार ३ सय ४३ मेगावाट छ । भारतबाट दिनको समयमा ४ सय मेगावाट विद्युत आइरहेकोमा राति त्यो आउँदैन । त्यसो हुँदा रातको समयमा विद्युत्को चरम अभाव भइरहेको छ ।