समिट एयरका यात्रुले जहाजबाट तेल चुहिएको देखेपछि…

सोमबार, २६ चैत्र २०८०

धनगढी — समिट एयरको जहाज दुर्घटना हुनबाट बालबाल जोगिएको छ । सोमबार धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज दुर्घटनाबाट बालबाल जोगिएको छ ।

जहाजको दुवैतिरको पंखा नजिकबाट इन्धन चुहिएपछि उड्नै लागेको जहाजको इन्जिन बन्द गरी ग्राउन्डेड गरिएको छ । नाइन एनएमजी कल साइन भएको उक्त जहाजमा इन्धन चुहिएको बारे विमान चालक दलका सदस्यले कुनै पनि सुइँको पाएका थिएनन् ।

जहाजमा रहेका एकजना यात्रु अशोकबहादुर सिंहले इन्धन चुहिएको बारे एयर होस्टेजलाई जानकारी दिएपछि मात्रै चालक दलका सदस्यलाई विमानमा आएको खराबीबारे जानकारी भएको थियो । त्यसपछि उड्नै लागेको जहाजको पंखा बन्द गरी उडान रद्द गरिएको छ । जहाज ग्राउन्डेड भए लगतै विमानस्थल स्थित अग्नी नियन्त्रकको टोलीले जहाजको निरीक्षण गरेको थियो ।

काठमाडौँबाट इन्जिनियर आएर बिमानको मर्मत गरिसकेपछि मात्रै उडान हुने समिट एयरले जनाएको छ । ‘दुवै ठाउँबाट इन्धन लिक भएको रहेछ । यस्तोमा इन्जिन तातिए पछि आकाशमै आगो लाग्ने खतरा हुन्छ,’ समिट एयरका कर्मचारी रोसन सिंहले भने ‘अब काठमांडौबाट इन्जिनियर आएर मर्मत गरे पछि मात्रै जहाज उड्नेछ ।’