अमेरिका भगौडा बस्ने ठाउँ हो : विप्लव

मंगलबार, २७ चैत्र २०८०

धनगढी – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादले विज्ञानको बिरुद्धमा धर्म प्रयोग गरेर नेपालमा कम्युनिस्ट परास्त पार्ने षड्यन्त्र गरिरहेको बताएका छन् । मंगलबार युवा संगठन नेपालको धनगढीमा जारी पाचौं राष्ट्रिय सम्मेलनको बन्दसत्रलाई सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन् ।

उनले कम्युनिस्टहरुले नयाँ खोज अनुसन्धानमा जोड दिने, विज्ञानबाट प्रमाणित कुरालाई प्रयोग गर्दै जनतामा लागू गर्ने र धर्मका नाममा साम्राज्यवादले जनतामा छरेको भ्रमबाट मुक्त गर्ने भएकाले त्यो प्रयोगबाट साम्राज्यवाद अतालिएर विज्ञानकाबिरुद्ध धर्म प्रयोग गर्दै नेपालमा कम्युनिस्ट परास्त गर्ने षड्यन्त्र गरेको बताए। काठमाडौंमा अहिले चलिरहेको राजावादीहरुको आन्दोलनलाई इङ्गित गर्दै विप्लवले अहिले धर्म निरपेक्षता र प्राप्त उपलब्धिलाई फेरि पुरानै सामान्तको हातमा सुम्पिन चिहानमा पुगिसकेको शक्तिलाई उचालेर साम्राज्यवाद्ले बबन्डर मच्चाइरहेको बताए। उनले भने, ‘अहिले हारेर चिहानमा पुगेका शक्तिले फेरि गुमेको साम्राज्य फर्काउन, प्राप्त उपलब्धीलाई बदनाम गराएर त्यसलाई गलत सिद्ध गरेर फेरि पनि राजा फर्काउन सकिन्छ कि भन्दै बबन्डर गरिरहेका छन् ।’

उनले नेपालमा धर्म निरपेक्षता र राजा फर्काउन युरोपियन युनियन र भारतियहरु घुडा धसेर लागिपरेको आरोपसमेत लगाए। महासचिव विप्लवले धर्म, सस्कृति र विज्ञान फरक कुरा भएको भन्दै यसलाई आम जनतासामु गएर मसिनोगरी बुझाउन जरुरी रहेको जिकिर गरे। उनले भने, ‘अहिले हाम्रो पार्टीप्रति जनताको आशा ह्वात्तै बढेको हाम्रा अभियान र विचार दृष्टिकोणबाट जनता आशावादी छन्, अब युवा नौ जवानहरुले निरासाको विरुद्ध लड्दै विश्वको बदलिदो परिस्थितिलाई बुझ्दै नेपालमा नै केही गर्न सकिन्छ । नेपालमा केही छैन भन्दै पलायनको बाटो रोजिरहेका युवाहरुलाई हामी आफ्नै बलबुतामा देशभित्रै प्रसस्थ सम्भावना सिर्जित गर्दै आत्मविश्वास जगाउनु पर्छ।’

सम्मेलनमा विभिन्न जिल्ला ब्युरोबाट प्रतिनिधित्व गरेर बन्दसत्रमा आएका युवाहरूलाई उत्साह थप्दै काठमाडौंमा निस्केको हारेका शक्तिको रोनाधोना जस्तो यो उपस्थिति नभएको बताए । उनले थपे, ‘यो हारेका राजावादी शक्तिले काठमाडौंमा गरेको रोनाधोना होइन । अब यो देश पछाडि होइन नेपाली विशेषताको समाजवादसहित अघि बड्दै छ।’ राजावादीहरुले बढी गरेभने त्यसको प्रतिरोध युवा संगठनले गर्नुपर्छ ।’ उनले अब यो देशमा कुनैपनी हालतमा राजा फर्किन सम्भव नभएको ठोकुवा गरे । उनले देशलाइ पछाडि फर्काउन उद्द्त कुतत्वहरुलाई धुलोपिठो पार्न युवाहरुलाई निर्देशनसमेत गरे। विप्लवले गएको चिजलाई फर्काउदा जनताले पाएका सम्पूर्ण अधिकार गुम्ने कुरा मसिनोगरि बुझाउन सके साम्राज्यवादको षड्यन्त्रबाट जनता प्रभावित नहुने बताए । साम्राज्यवादले नेपालका युवाहरुलाई निरासा बाड्दै यो देशमा केही हुन्न भन्ने भ्रम फैलाएर युवा पलायनतालाई प्रसय दिराखेको बताए । उनले आम युवाहरूलाई अमेरिका भगौडा बस्ने ठाउँ हो भनेर प्रशिक्षित गर्नुपर्ने बताए । ‘अमेरिका भगौडा बस्ने देश हो । त्यहाँको पैसाका लागि भौतारिन हुन्न भन्ने कुरा युवालाई भरिदिनु पर्ने भएको छ ।’

पछिल्लो समय नेपालको सुरक्षा सम्यन्त्रमाथी साम्राज्यवादी हस्तक्षेप बढेको र नेपालको सेना र राजनितिक दललाइ भिडाएर कु गर्ने षडेन्त्र रहेको खुलासासमेत गरे । उनले भने, ‘इमानदार अफिसरहरुलाई पाखा लगाएर जर्नेल कर्नेलहरुलाई सकेर आफ्नो वर्चस्व कायम गरेर कु गर्ने र सैन्य वलमा संसदवाद टिकाउने षडयन्त्र हुदैछ । त्यसको ससक्त प्रतिरोध जरुरी छ, नेपाली सेनाभित्र रहेका राष्ट्रवादी जर्नेलहरुलाई साम्राज्यवादी षड्यन्त्रवारे बुझाएर क्रान्तिमा लामवद्द गर्ने अठोट थप्न जरुरी छ।’

अन्त्यमा नेकपाले केही गर्दैन भन्नेहरुलाइ चुनौती दिदै बिप्लवले नेकपाले एमसीसी गलत हो भनेर स्थापित गरेको बताए । ‘एनसेलको ७२ अर्व राज्यलाई कसले दिलायो ? साम्राज्यवादको हस्तक्षेप बिरुद्ध सतिसाल भएर को उभियो ?, भन्दै उनले प्रश्न गरे । सम्मेलनको बन्दसत्रमा नेकपाकी स्थायी समिती सदस्य तथा संगठनकी फ्याक्सन इन्चार्ज शिलु सी, पोलिट ब्युरो सदस्री तथा सेती ब्यूरो इन्चार्ज डवल सी, केन्द्रिय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज समर सी, लगायतको आतिथ्यता रहेको थियो। अध्यक्ष मण्डलकी सदस्य तथा बन्दसत्रको अध्यक्ष सम्झना सीको अध्यक्षतामा सुरु भएको प्रशिक्षण सत्रमा नेकपाकी स्थायी समिती सदस्य शिलु सीले समेत आफ्नो प्रशिक्षणात्मक मन्तव्य राखेकी थिइन् ।