दुई एसएसपी डीआईजीमा बढुवा सिफारिस

मंगलबार, ४ बैशाख २०८१

काठमाडौं – नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय नविन्द्र अर्याल र डा. देउती गुरुङ प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस भएका छन् । उनीहरुलाई बढुवा गर्न सरकारले प्रहरी नायब उपरीक्षक (डीआईजी) का २ विशेष दरबन्दी थप गरेको थियो ।

२२ चैतमा बसेको मन्त्रिपरिषद बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डीआईजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको थियो । सोही विशेष दरबन्दीमा अर्याल र डा. गुरुङ बढुवा सिफारिस भएका हुन् । अर्याल नेपाल प्रहरीको साइबर व्युरो प्राविधिक सहायता शाखा काठमाडौंमा र डा. गुरुङ केनाइन कार्यालय महाराजगञ्जमा कार्यरत छन् । अर्याल ८४.९०६२ अंकसहित र डा. गुरुङ ८०.६०६८ अंकसहित बढुवा सिफारिसमा परेका गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् । नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो ।

५६ वर्षे उमेरहदका कारण वैशाख ५ मा एआईजी सन्दीप भण्डारी र वैशाख ७ मा एआईजी मिरा चौधरी थारु अवकाशमा जाँदैछन् । त्यसपछि रिक्त हुने २ पदमा जोशी र ढकाल सिफारिसमा परेका हुन् । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र ढकाल प्रहरी प्रधान कार्यालय नक्शालमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।