माधव नेपालको ढिपीका अगाडि ओली-प्रचण्डको केही लागेन, एकै झड्कामा हल्लाइदिए सुदूरपश्चिम

मंगलबार, ४ बैशाख २०८१

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेका छन् । नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका चौधरीले एकीकृत समाजवादीले समर्थन नरहेको पत्र बुझाएपछि प्रदेश प्रमुख मियाँलाई निवासमै पुगेर भेटेका हुन् ।

चौधरीले मियाँलाई भेटेर आफूले दाबी पेस गर्दा बुझाएको कागज पत्रको प्रतिलिपि मागेका छन् ।

जबरजस्ती संविधानमा भएको व्यवस्था विपरीत लैजाने काम भएकोले बताउँदै कानुनी उपचारमा जाने चौधरीले जानकारी दिए । चौधरीले प्रदेश प्रमुखको कदमअनुसार आवश्यक निर्णय लिइने बताए।वैशाख २ गते कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । नाउपाकै कैलाश चौधरीले पनि एमाले–माओवादीको समर्थनमा दाबी पेस गरेका थिए । सोही कारण प्रदेश प्रमुखले यसबारे कुनै निर्णय लिएका छैनन् ।

केन्द्रमा नेताहरूबीच एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि संसदीय दलका नेता दीर्घ सोडारीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएका थिए । प्रदेश प्रमुख मियाँले दुवैको दाबी नपुगेको भन्दै सरकार गठनका लागि पुनः आह्वान गर्ने तयारी गरेका छन् ।

एकीकृत समजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएपछि सुदूरपश्चिममा हलचली मच्चिएको छ।