यी हुन् सुँगुर पाल्न लाखौंको जागिर छोड्ने महिला, यही व्यवसायले बनाइदियो रातारात भाईरल
काठमाडौँ – कर्पोरेट क्षेत्रको जागिर छोडेर कयौं मान्छे आफ्नै व्यवसाय र नयाँ काम सुरु गरिरहेका छन् । राम्रो कमाई भएकाहरू ९–५ को जागिरमा खुशी नै छन् । तर चीनमा भने सुँगुर पाल्नका लागि २६ वर्षकी एक महिलाले लाखौंको सेवा सुविधा भएको जागिर छोडेपछि सामाजिक सञ्जालमा सनसनी बनेकी छिन् । ९ देखि ५ सम्मको जागिरमा मजा नआएको भन्दै ती महिलाले जागिर छाडेकी थिइन् ।
युनान प्रान्तकी झोउ थरकी ती महिलासँग साहित्य मुख्य विषयमा स्नातक गरेकी छिन् । तर विगत तीन वर्षदेखि उनी मासिक ६ हजार युआन तलबमा सुँगुरको फारममा काम गरिरहेकी छिन् । पहिलाको जागिर छोडेकोमा उनलाई कुनै पछुतो पनि छैन । ‘अब म खुशी छु कि म आफ्नै मर्जीको जीवन बिताइरहेको छु,’ झोउले भनेकी छिन् ।
साउथ चाइना मर्निङ पोस्टमा छापिएको एउटा समाचारका अनुसार दक्षिणपश्चिमी चीनको युनान प्रान्तमा बस्दै आएकी झोउ एक कम्पनीमा राम्रो सेवा सुविधामा काम गरिरहेकी थिइन् । तर उनलाई काममा रमाइलो लागिरहेको थिएन । एक दिन उनले राजीनामा दिइन् ।
तर घरमा बस्दा बस्दा उनलाई दिक्क लाग्न थाल्यो । केही समय उनले खेतबारीमा पनि काम गरिन् । एक साथीले उनलाई सुँगुर फारममा काम गर्न सल्लाह दिए । सुरुमा त उनी हिच्किचाइन् । उनलाई यो काम राम्रो लागेको थिएन ।
पछि यही काम गर्ने प्रण लिइन् । यस काममा उनले परिवारको साथ र सहयोग पाइनन् । काम पनि सहज थिएन । सुँगुरहरू फोहोरी पशु हुन् । फोहोरमा बस्न मन पराउँछन् । तर उनले हार मानिनन् । अहिले उनी सामाजिक सञ्जाल सेन्सेशन बनेकी छिन् । धेरैले उनलाई रोल मोडल भन्न थालेका छन् ।