ईमानदारिताका साथ यी तिन काम गरे पुरै कार्यकाल एमालेले प्रचण्डलाई प्रधानमन्त्री दिने
काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् । शुक्रबार एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा महासचिव पोखरेलले एमालेको चिन्ता मुलुक, जनता र राष्ट्रको भविष्यप्रति भएको भन्दै एमाले प्रधानमन्त्री परिवर्तनको पक्षमा नरहेको दाबी गरे ।
‘कतिपयले आलोपालो प्रधानमन्त्री भनेका छन् । तर हामी यो सरकारले राम्रो काम गर्छ भने यसलाई निरन्तरता दिन तयार छौ भनेर भनिराखेका छौँ’, महासचिव पोखरेलले भने, ‘किनकि हाम्रो चिन्ता मुलुक, जनता र राष्ट्रको भविष्यप्रति हो ।’
महासचिव पोखरेलले गणतन्त्र र लोकतन्त्रको सुदृढीकरणका सवालमा सबै पक्षसँग एमाले मिलेर जान तयार रहेको समेत बताए । ‘मुलुकलाई ओरालो यात्राबाट सुरक्षित यात्रामा डोर्याउने कुरा नै प्राथमिकता हो’,महासचिव पोखरेलको भनाइ छ । उनले लोकतन्त्रमाथि सङ्कट आएका बेला कांग्रेससँग पनि मिलेर काम गर्नुपर्छ भनेर भनिरहेको बताए ।
नेता पोखरेलले प्रदेशहरूमा देखिएको अस्थिरता राष्ट्रिय राजनीतिमा भएको कोर्स करेक्सनको प्रभाव भएको पनि टिप्पणी गरे । केन्द्रको राजनीतिक समीकरण अनुसार नै प्रदेश सरकारहरू बनेपछि मात्र मुलुकले स्थायित्व प्राप्त गर्ने पोखरेलको दाबी छ ।