साम्राज्यवादले नेपाललाई पुरानै अवस्थामा फर्काउन जनतामा निराशा छरिरहेको छ : विप्लव सी

शनिबार, १५ बैशाख २०८१

रसुवा – नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नेपालमा नेपाली विशेषताको समाजवाद स्थापना नगरेसम्म साम्राज्यवादी दलालहरुलाई चैनले सुत्न नदिने बताएका छन् । शनिबार समाजवादी मोर्चा नेपाल, रसुवाले कालिकास्थानमा आयोजना गरेको ‘समाजवादी अर्थ व्यवस्था र आर्थिक रुपान्तरणमा जनताको सहभागिता’, विषयक अन्तरक्रिया तथा सन्देश सभालाई सम्बोधन गर्दै विप्लवले समाजवादी व्यवस्था स्थापना नहुँदासम्म दलालहरुलाई चैनसँग सुत्न नदिने बताएका हुन् ।

साम्राज्यवादी विदेशी दलालहरुले हाम्रो देशको राष्ट्रियता, सार्वभौमिकता र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई सिध्याएर नेपाली जनताहरुलाई पुरानै अवस्थामा फर्काउनका लागि निराशा छरिरहेको बताए । ‘अहिले नेपालमा साम्राज्यवादी हस्तक्षेप तिब्र रुपमा बढेको छ । विभिन्न बहानामा नेपाली युवाहरुलाई नेपालमा कुनै सम्भावना छैन भन्ने निरशा बाँडेर देश खाली बनाउँदैछ ।’, कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका विप्लवले भने, ‘नेपाली युवालाई निरास बनाएर विदेश पठाउँने र आफ्ना दलालहरुलाई नेपाल पठाएर आफ्नो स्वामित्व जमाउने दाउमा साम्राज्यवाद छ । यसबाट नेपाली युवा जोगिनुपर्छ ।’

नेपालमा दलाल पँजीवाद र भुमन्डलिकृत साम्राज्यवादले धर्म संस्कृति मास्न र देशलाई कृश्चिनिकरण गर्नका लागि क्याभिनेटबाट बजेट पास गरेको, आफ्ना विश्वासिला एजेन्ट मार्फत संसदबाट एमसीसी पास गरेर नेपालमा सैन्य क्याम्पहरु राख्न खोजेको विप्लवको जिकिर थियो । क्रान्तिकारी शक्ति कमजोर भएपछि जनतामा निराशा जस्तो देखिएको बताउँदै उनले जनतालाई राम्रो बुझाउन सके निरासा हराएर जाने ठोकुवा गरे ।

विप्लवले सहिदपरिवारलाई सम्बोधन गर्दै जनयुद्धमा सहादत प्राप्त गरेकै कारण नेपालमा ठूलो उपलब्धि प्राप्त भएको बताए । ‘नेपालमा सामन्तवाद हुँदा जनतालाई दबाइएको थियो । बोल्न प्रतिबन्ध थियो । उनीहरुलाई जे गर्न पनि छुट थियो । जनतामा निकै ठूलो शोषण थियो र उत्पीडन थियो ।’, उनले भने, ‘त्यसको अन्त्य तपाईं हाम्रा आफन्तको वलिदानका कारण भएको हो । आज राज्यका विभिन्न निकायमा महिला, आदिवासी, जनजाती, दलित, अल्पसंख्यकको सहभागित भएको छ । हिजो दबिएका मान्छेहरु देशको नेतृत्व गर्ने ठाउँमा पुग्नु आजको उपलब्धी हो । साम्राज्यवादले जनतामा निराशा कुण्ठा भरिदिएर डलरको सपना देखाएर  देशका दक्ष जनशक्तिहरुलाई आफ्ना गुलाम बनेर जनयुद्ध गलत हो भन्ने भास्य क्रेट गरेर  जनयुद्धलाई अपराधिकरण गर्न खोजेको छ ।’

केही दलाल साहित्यकार बुद्धिजिवीहरुले आन्दोलनको विरुद्धमा माओवादी आन्दोलनलाई अपराधी करण गरेर जनतालाइ भ्रम सिर्जना गरिरहेको बताउँदै जनताको सत्तालाई केन्द्रीय सत्तामा रुपान्तरण गर्न नसक्दा जनयुद्ध असफल भएको जस्तो देखिएको दावि गरे । नेपालको संघिय लोकतान्त्रीक गणतन्त्र पुरै दलालको हातमा परिनसकेको भन्दै विप्लवले उनीहरुलाई रोक्नका लागि संघर्ष जारी रहेको बताए । ‘नेपालको संघिय गणतन्त्र पुरै दलाहरुको कब्जामा पुगिसकेको छैन । त्यसैले त लडाइँ जारी छ । त्यसैको निम्ति समाजवादेव मोर्चा बनेको हो।’, उनले भने ।

विप्लवले नेपालको विशिष्ट परिस्थितिको उपज समाजवादी मोर्चा भएको बताए । समाजवादी मोर्चा रसुवा संयोजक शिव लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सागर सीले उपस्थिति सबैलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने फर्पु तेन्जिङलामाले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम नेकपाका पोलिटब्युरो सदस्य आजात सी, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज कल्पना शर्मा, माओवादी केन्द्रका प्रदेश सांसद इन्द्रप्रसाद गौतम, एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य राजेन्द्र लोहनीले संयोजक लामिछानेले प्रस्तुत गरेको अवधारणपत्रमा आफ्नो धारण रोेखेका थिए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य प्रकाश सी, सहिद परिवार लगायतका आतिथ्यता रहेको थियो ।