प्रचण्ड आउने भएपछि सल्यानमा सार्वजनिक विदा

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सल्यान जाने भएका छन् । गाउँपालिकाको भवन उदघाटन गर्न प्रचण्ड सल्यान जान लागेका हुन् । दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सल्यान प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड आउँदा दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा दिइएको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन र पालिकाको भवन नजिक पर्ने शहीद गेटमा माल्यार्पणको कार्यक्रम छ ।

सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे ११ बजे सल्यान ओर्लिने छन् । ‘हामीलाई जानकारी भएअनुसार प्रधानमन्त्रीेको मुख्य कार्यक्रम गाउँपालिकाको प्रशासकीय भवन उदघाटन हो,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले अनलाइनखबरसँग भने, ‘त्यसक्रममा जाजरकोट भूकम्पबाट प्रभावित भएका दार्मा गाउँपालिकाका बासिन्दासँग पनि भेटघाट गर्ने हुनसक्छ ।’

गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रबिन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प जाँदा सल्यानको सबैभन्दा धेरै दार्मा गाउँपालिका प्रभावित भएको थियो ।