नेपालको नोट हाम्रो नोट हो, भारतको किन टाउको दुखाई : एमाले अध्यक्ष ओली

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयको स्वागत गरेका छन् । नोटमा नयाँ नक्सा राख्ने विषय नेपालको आन्तरिक विषय भएकाले भारतले यसबारे टाउको दुखाउन नहुने बताए ।

साथै ओली यसको विरोधमा अभिव्यक्ति दिने राष्ट्रपतिका सल्लाहकार चिरञ्जिवि नेपालमाथि प्रश्न उठाएका छन् । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेपछि नेपालले त्यसविरुद्धको अभिव्यक्ति दिएका थिए । एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा ओलीले यो विषयलाई संसदमा गम्भीर रुपमा उठाउने बताए ।

‘राष्ट्रपतिजीले सुन्नु भएको छ कि छैन ? छैन भन्ने यही भनाइबाट सुन्नुस्’ राष्ट्रपतिको विज्ञ सल्लाहकार राष्ट्रपतिको बोली बोल्न राखिने भन्दै उनले भने, ‘राष्ट्रपतिजी के भन्नुहुन्छ ? राष्ट्रपतिको आवाज हो कि होइन ? हामी सोध्न चाहन्छौं ।’

‘नेपाल सरकारले आफ्नो भूभाग समेटेर नक्सा जारी गर्यो, नेपालको नोट हाम्रो नोट हो । धरौटी धितो राखेर छाप्छौं,’ ओलीले भने, ‘कसैको टाउको दुखाईको विषय होइन ।’ उनले सरकारलाई पनि हरेक नोट र सिक्कामा अनिवार्य रुपमा नयाँ नक्सा राख्न सुझाव समेत दिए । हात्ती, गैंडा केके राख्नुपर्छ, राखौं’ उनले भने, ‘फ्रन्ट वा पृष्ठभागमा अनिवार्य रुपमा नयाँ नक्सा पनि राख्नुस् ।’