उज्यालोका नायक मानिने कुलमानको परिवारमाथि आइलाग्यो यस्तो आपत

मंगलबार, १ जेष्ठ २०८१

काठमाडौं – उज्यालोका नायक मानिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कुलमान घिसिङ प्राधिकरणको निर्देशक भएसँगै छोटो अवधिमा परिवारको आर्थिक स्रोतबिनै अर्बौं रुपैयाँ सम्पत्ति आर्जन भएको देखिएको भन्दै उजुरीकर्ताले अख्तियारमा उजुरी गरेपछि कुलामानको परिवारमाथि बज्रपात परेको हो ।

आयोगमा उजुरी परेसँगै कुलमानका भाइ गणेश घिसिङसहितको परिवारको सम्पत्तिका विषयमा अख्तियारले छानबिन सुरु गरेको छ । कुलमानले आफ्ना भाइ तथा परिवारका सदस्यलाई १ अर्ब रुपैयाँभन्दा बढी आम्दानी छोटो समयमा कसरी गराए भन्ने विषयमा छानबिन हुनुपर्ने भन्दै उजुरी परेको आयोग स्रोतले जनाएको छ ।

घिसिङ पहिलोपटक नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएपछि अपारदर्शी रूपमा आएको पैसा लगानी गरेर आफ्ना भाइ गणेश घिसिङका नाममा ३ करोडको कम्पनी दर्ता गराएका थिए ।

सो कम्पनीमा कुलमानले भाइहरूको नाम राखेको र अर्बौं रुपैयाँको सम्पत्ति आर्जन गरेको आरोप उजुरीकर्ताले लगाएका छन् । प्राधिकरणको आवरणमा सोही कम्पनीबाट अर्बभन्दा बढीको कारोबार कुलमानबाट के–कसरी भयो सबै छानबिन गरेर कानुनी दायरमा ल्याउनुपर्ने माग गर्दै उजुरी परेको हो ।