सफाई पाएको एक घण्टा पनि नबित्दै सन्दीपका लागि क्यानबाट थपियो अर्को खुशी

बुधबार, २ जेष्ठ २०८१

काठमाडौं – स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ ।

‘हामी भोलि सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउँछ,’ क्यानका कोषाध्यक्ष पदम खड्काले भने ।

आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने खड्का बताउँछन् ।