दुर्घटनाग्रस्त अवस्थामा भेटियो इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर, कस्तो छ उनको अवस्था ?

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार दुर्घटनाग्रस्त हेलिकोप्टर फेला परेको दाबी गरिएको छ । दुर्घटना लगत्तै परिचालित उद्धार टोलीले राष्ट्रपति रायसी सवार हेलिकोप्टर फेला परेको दासव गरिएको हो । रेड क्रिसेन्टलाई उद्धृत गर्दै अधिकांस इरानी मिडिया आउटलेटहरूले उद्धार टोलीले राईसीको हेलिकप्टर फेला पारेको लेखेका छन् ।

रेडक्रिसेन्टले राष्ट्रपति र अन्य यात्री बाँचेका छन् वा छैनन् भन्नेबारे भने केही खुलाएको छैन । राष्ट्रपति रायसीसहित विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानसवार हेलिकोप्टर हिजो दुर्घटनामा परेको थियो । खराब मौसमका कारण हेलिकोप्टरले हार्ड ल्याण्डिङ् गर्नु परेको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।

सरकारी टेलिभिजनका अनुसार राष्ट्रपति सवार हेलिकोप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटनामा परेको हो । मौसम र भौगोलिक जटिलताका कारण खोज र उद्धार टोली दुर्घटनास्थल सम्म पुग्न निकै सकस परिरहेको छ । सरकारी टिभीले राष्ट्रपति रायसीको गृहनगर मशहद सहरमा समर्थकहरुले प्रार्थना र कुशलताको कामना गरिरहेका दृष्यहरु प्रशारण गरेको छ ।

दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको बताइएको छ । ६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा गएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए । रायसीको सवारीमा तीनवटा हेलिकोप्टर परिचालन गरिएका थिए । अन्य दुई हेलिकोप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेका छन् । तर राष्ट्रपति सवार हेलिकोप्टर भने दुर्घटनामा परेको हो ।

गृहमन्त्री अहमद वाहिदीले खराब मौसमका कारण रायसी सवार हेलिकोप्टरले हार्ड ल्यान्डिङ गरेको बताएको बीबीसीले जनाएको छ । यसैबीच, चिनियाँ विदेश मन्त्रालयले इरानी राष्ट्रपति र हेलिकप्टरमा सवार अन्य यात्रीको अवस्था सुरक्षित र स्वस्थ रहेको आशा गरेको बताएको छ । चिनिया विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीनले स्थितिलाई नजिकबाट नियालिरहेको भन्दै उद्धार प्रयासका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने उल्लेख छ । इरानी राष्ट्रपति रायसीले तेहरान र बेइजिङको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।