सत्ता पक्षको पेलानको अगाडि कांग्रेसको केहिसिप लागेन, बाध्य भएर रविको मुद्धामा देखायो यस्तो लचकता

शुक्रबार, ११ जेष्ठ २०८१

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने केन्द्रित संसदीय छानबिन समिति गठनको अडानबाट पछाडि हट्ने संकेत गरेको छ । कार्यदलस्तर र शीर्ष तहको छलफलपछि कांग्रेसले लामिछानेकेन्द्रित छानबिन समिति बनाउनैपर्ने अडानबाट केही लचक हुने संकेत देखाएको हो ।

समिति बन्नुअघिदेखि नै कांग्रेसले सहकारीका पैसा गोर्खा मिडियामा ल्याएर अपचलन गर्नेमा गृहमन्त्रीको संलग्नता रहेको दाबी गर्दै आएको थियो । सुप्रिप, सूर्यदर्शन, स्वर्णलक्ष्मीको करोडौं रुपैयाँ गोर्खा मिडियामा ल्याएर अपचालनमा गृहमन्त्री लामिछाने दोषी रहेको दाबी रहँदै आएको छ । यसैले उनको नाम नै उल्लेख गरेर छानबिन गर्नुपर्ने बताउँदै आएको थियो । तर विपक्षीको मत समिति गठनमा लामिछानेको नाम नै उल्लेख गर्न नहुने रहँदै आयो । यी दुई बटमलाइनको बीचबाट दलहरूले स्थिति सकारात्मक बन्दै गएको सन्देश दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको प्रमुख दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति गठनमा दलहहरू सकारात्मक भएको जानकारी दिए ।

‘व्यक्तिको नाम राख्ने भन्दा पनि मूलभूत कुरा लाखौंको अर्बौ रकम बचत कतिपयबाट दुरुपयोग, अपचलन र ठगी भएको छ । कतिपय सहकारीबाट प्राइभेट कम्पनीमा रकम गएको छ,’ लेखकले भने, ‘सुप्रिम र स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया हाउसमा रकम गएको छ । कुन सहकारीबाट संस्थामा गयो ?व्यक्तिको होइन संस्थाको कुरा हो । अपचलन भएको कुन सहकारीबाट कहाँ गयो भन्ने हो ।’

लेखकले यसरी अपचलनमा गृहमन्त्री लामिछानेको नाम जोडिएकोले उनको संलग्नताको विषयलाई सम्बोधन गर्ने विषय प्रमुख रहेको बताए । तर कुन भाषाशैली राख्ने भनेर छलफल गर्न सकिने उनले बताए ।

‘सहकारीका यस्ता प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको छ । संलग्नता देखिएको छ । उहाँको संलग्नता रहेको विषय विषयलाई सम्बोधन गर्ने विषय मुख्य हो,’ लेखकले भने, ‘कुन भाषाशैली प्रयोग गर्ने भन्ने बसेर छलफल गर्न सकिने विषय हो ।’

कांग्रेसले गृहमन्त्रीको नाम हाल्नैपर्ने र सत्तापक्षले समग्र सहकारीको छानबिन गर्नुपर्ने तर व्यक्ति विशेषको नाम उल्लेख गर्न नहुने अडान लिँदै आएपनि शुक्रवार भने प्रतिपक्षी दल नरम देखिएको लेखकको भनाइले पनि देखाउँछ ।

कार्यदलका नाममा दशौंपटकसम्म बैठक बसेपनि टुंगो लाग्न सकेको छैन । तर शुक्रबारको कार्यदलपछि बसेको शीर्ष नेताको बैठकपछि कांग्रेस नरम हुने देखिएको हो ।