६० किलो सुन तस्करी काण्ड : पोल खुल्ने भएपछि एक जनाको रहस्यमय हत्या

बुधबार, २३ जेष्ठ २०८१

काठमाडौं – ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्दै जाँदा प्रहरीले एक चिनियाँ नागरिकको मृत्यु् भएको फेला पारेको छ । जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि पुनः अनुसन्धान सुरु गरेको प्रहरीले चिनियाँ नागरिक ग्याल्बु लामाको शंकास्पद मृत्यु भएको फेला पारेको हो ।

पहिलो चरणको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएका लामाको अनुसन्धानकै क्रममा शंकास्पद मृत्यु भएको पाइएको छ । सुन तस्करीमा संलग्न र फरार चिनियाँ नागरिकसँग ग्याल्बुको सम्पर्क भएको देखिएपछि सीआईबीले २०८० को भदौमा सोधपुछका लागि बोलाएको थियो । ग्याल्बु मोबाइल फर्म्याट गरेर सीआईबी आएको स्रोतको भनाइ छ ।

प्रहरीको सम्पर्कमा रहेका उनी भदौमा बौद्धस्थित आफ्नै कोठामा छटपटाइरहेको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनाासाथ डाक्टरले उनलाई मृत घोषित गरेका थिए । उनको कोठामा विषको बट्टा पनि भेटिएको थियो । जसकारण उनले विषसेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको थियो । पोष्टमार्टम रिपोर्टमा समेत विष सेवनबाट मृत्यु भएको उल्लेख गरिएको छ । तर, ग्याल्बु आफैंले विष सेवन गरेर आत्महत्याको बाटो रोजे वा यसको पछाडि अन्य कारण छ भन्ने यकिन भइसकेको छैन ।

उनको मृत्यु शंकास्पद देखिएकाले अहिले अनुसन्धान अघि बढाइएको सीआईबी उच्च स्रोतले जानकारी दियो । अनुसन्धानका क्रममा सुन तस्करी प्रकरणमा उनको संलग्नता प्रष्ट देखिएको दाबी सीआईबीका अनुसन्धान अधिकारीहरुको छ । ठमेलमा व्यवसाय गर्दै आएका लेसाङ शेर्पा भनिने चिनियाँ नागरिकमार्फत अर्का चिनियाँ नागरिक डोयु जुनछिंहासँग भेट भएको ग्याल्बुले सीआईबीसँगको बयानमा बताएका थिए ।

डोयुलाई जग्गा भाडामा खोजिदिएर सुन गाल्ने कारखाना खोल्न सहयोग गर्ने व्यक्ति नै ग्याल्बु रहेको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए । टोखा नगरपालिका–२ स्थित छलिमाया श्रेष्ठ र लक्ष्मी श्रेष्ठको संयुक्त नाममा ४ रोपनी जग्गा ग्याल्बुमार्फत डोयुले भाडामा लिएको खुलेको छ । रोपनीको ६० हजारका दरले वार्षिक २ लाख ४० हजारमा २०७६ भदौ २२ गते सम्झौता गरेर जग्गा लिजमा लिइएको थियो ।

त्यही जग्गामा सुन तस्करको गिरोहले कारखाना नै खडा गरेर सुन गाल्ने काम गरेको थियो । राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेर उक्त कारखानाबाट सुन गाल्ने मेसिन बरामद गरेको थियो । सुन कारखाना खोल्न सहयोग गर्ने उनै ग्याल्बुको मृत्यु रहस्यमय भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ ।