गोरखकाली टायर उधोग पुन: संचालनको माग राख्दै नेकपा गोरखाले गर्यो उद्योग अगाडि प्रदर्शन

शुक्रबार, २५ जेष्ठ २०८१

गोरखकाली टायर उधोग पुन: संचालनको माग राख्दै नेकपा गोरखाले गर्यो उद्योग अगाडि प्रदर्शन

साहश भट्ट

गोरखा – गोरखकाली टायर उधोग पुन: संचालनको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी गोरखाले उद्योग अगाडि प्रदर्शन गरेको छ । सुक्रबार नेकपा गोरखाले गोरखकाली टायर उधोग पुन: संचालनको माग राख्दै  प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न उद्योग अगाडि प्रदर्शन गरेको हो।

नेकपा गोरखाले विगत १० वर्ष देखि पुर्ण रुपमा बन्द उधोग खोल्नुपर्ने माग राखेर प्रदर्शनसंगै गोरखाबाट निर्वाचित प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सेक्रेटरी काजी सीको नेतृत्वको टोलीले गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

यसै गरि आजै नेपाल कम्युनिस्ट पार्टी गोरखाले गोरखकाली रबर उद्योगमा ब्यानर राखेर प्रदर्शन गरेको छ । रबर उद्योग अगाडी विभिन्न नारासहित भएको प्रदर्शन कोणसभामा परिणत भएको थियो। कोणसभालाई प्रमुख नेतृत्वको रुपमा सेक्रेटरी काजी सीले सम्बोधन गरेका थिए , सभालाई सम्बोधन गर्दै आफुहरु गोरखाली जनताको भावना र सिङ्गो नेपाली जनताको चाहनाको लागि आवश्यक परे रबर उद्योग सञ्चालनको लागि आमरण अनसन समेत बस्न सक्ने चेतावनी दिएका थिए ।

सबै बुद्धिजीवी, व्यवसायी, समाजसेवी , राजनीति पार्टीहरुसङ्ग नै अन्तरक्रिया गर्दै आफुहरु थप कदम चाल्ने नेता काजी सीको भनाई थियो ।
कोणसभाको सञ्चालन जिल्ला सदस्य प्रकाश सीले गरेका थिए भने कार्यक्रममा पार्टीका गोरखा नगरपालिका इन्चार्ज योगेन्द्र सी, समाजसेवी प्रताप भण्डारी लगाएतले पनि सम्बोधन गरेका थिए ।