देशमा यतिठुला काण्ड मच्चिरहँदा प्रचण्ड पनि रहेछन् यस्तो काण्डबाट पिडित

शुक्रबार, २५ जेष्ठ २०८१

काठमाडौँ – सहकारी ठगीका घटनामा विभिन्न राजनीतिक पार्टीका नेताहरुको नाम जोडिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपनि सहकारी पीडित भएको खुलेको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले आज पार्टीसम्बद्ध सहकारी केन्द्रको अधिवेशन उद्घाटन गर्दै आफू पनि पीडित हुनुपरेको दुःखेसो पोखेपछि रहस्य खुलेको हो । सहकारीलाई केही व्यक्तिले शोषणको माध्यम बनाइरहेको उल्लेख गर्दै उनले त्यस्तो प्रवृत्ति माओवादीमासमेत रहेको बताए ।

‘हाम्रोभित्र पनि सहकारीलाई सहकारीको मूलभूत सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर पूँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यामजस्तो बनाइसकेपछि विकृति त देखा पर्नुनै थियो, पर्यो’, अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलेभने, ‘यहाँ अहिले प्रश्न आयो–फलानो पार्टी र अर्को पार्टी भन्ने । यति मात्रै छैन । हाम्रै पार्टीसँग सम्बन्धित साथीहरु पनि जसले सहकारी खालेर काम गर्न भनेर शुरु गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ मलाई । किनभने ती सहकारी खोल्ने साथीहरुले जस्तो मलाई अरुले सताएका छैनन् ।’

विद्यमान संरचना भित्रबाट सहकारीका पछिल्ला समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै उनले शक्तिशाली प्राधिकरण बनाएर अघि बढने पनि त्यसक्रममा जानकारी दिए । प्राधिकरण गठन प्रक्रिया केही समयभित्रै शुरु हुने प्रचण्डको भनाई छ ।