मोदीको शपथ ग्रहण भोली, कुन–कुन देशका नेताहरु सहभागी हुँदैछन् ?

शनिबार, २६ जेष्ठ २०८१

काठमाडौं – भारतीय जनता पार्टी (भाजपा) सांसद नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री नियुक्त भएका छन् । एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यससँगै उनले तेस्रो पटक भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिदैँछन् । जुन ९ (भोली) साँझ ६ बजे हुने शपथग्रहण समारोहमा मोदी र केही मन्त्रीहरूले शपथ लिनेछन् । शपथ ग्रहण समारोहमा धेरै देशका प्रमुखलाई निम्तो दिइएको छ ।

जसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन् । र, माल्दिभ्सबाट पनि आउने बताइएको छ ।

केन्द्रीय सरकारको विज्ञप्ती अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण समारोहमा सहभागी हुने विदेशी नेताहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन् । भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।