मोदी सरकारको भबिष्य यी दुई भाईको हातमा, दुबैले साथछोडे आउन सक्छन् सडकमा
काठमाडौँ – मोदीलाई प्रधानमन्त्री बनाउने निर्णय गर्नुअघि नै उनीहरूले मागहरू प्रस्तुत गरिसकेका छन् । भारतीय जनता पार्टीले गृह, सुरक्षा, अर्थ, विकास र रेल तथा परराष्ट्रजस्ता मन्त्रालय अरुलाई दिन चाहेको देखिँदैन भने नीतीशकुमार र चन्द्रबाबु नायडुले पनि तीमध्ये केही महत्वपूर्ण मन्त्रालयहरूमा हिस्सा खोजेका छन् ।
भारतमा नेपालमा जस्तो सत्ताका लागि मरिहत्ते गर्ने परिपाटी नभए पनि मोदीलाई चन्द्रबाबु नायडु र नीतीश कुमार मिलाउँदै शासन गर्ने चुनौती भने थपिएको छ । यस्तो कमजोर अवस्थामा मोदीले पद स्वीकार्न नहुने तर्क पनि आएकै थिए ।
नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल जति कमजोर र निरिह छन्, मोदी त्यति कमजोर र निरिह नभए पनि उनीसँग हिजोजत्तिकै शक्ति भने छैन । अब मोदीले महत्वपूर्ण निर्णय गर्नुअगाडि चन्द्रबाबु नायडु र नीतीश कुमारसँग सरसल्लाह गर्नुपर्ने हुन्छ । अब मोदीको सफलताको साँचो चन्द्रबाबु नायडु र नीतीश कुमारको हातमा छ ।
मोदीले विगत दश वर्षको शासनकालमा भारतलाई विश्वमञ्चमा महत्वपूर्ण शक्तिकेन्द्रको रुपमा स्थापित गर्न सफलता पाए । उनले भ्रष्टाचारविरुध्द पनि ठूलै अभियान चलाएका थिए । केही हदसम्म सफलता पनि पाए । नोटमा बन्देज पनि लगाउने साहसिलो काम पनि गरे । देशभित्र ठूला बाटो, रेल, जलबिद्युतलगायतका पूर्वाधार विकासमा फड्को मार्ने काम पनि गरे ।
मान्छेका राम्रा या नराम्रा पाटा हुन्छन् । राजनीतिक हिसाबले मोदी कुनै दूरदर्शी र महान सोचविचार भएका नेता होइनन् । उनले आफ्नै पार्टीका भिष्मपिता सरहका नेता लालकृष्ण आडवाणी र अटलविहारी वाजपेयीलाई पनि उचित मान सम्मान दिन चाहेनन् ।
यस्तो अवस्थामा उनले अरु पार्टीका नेतालाई मान सम्मान गर्ने कुरै भएन । पण्डित जवाहरलाल नेहरू प्रधानमन्त्री हुँदा भर्खरका जवान विपक्षी सदस्य अटलविहारी वाजपेयीले बोल्न लाग्दा नेहरू उनको भाषण मजाले सुन्न गर्थे । नेहरूले अटल विहारी वाजपेयीलाई भावी प्रधानमन्त्री भन्ने पनि गर्थे ।
अरुलाई सम्मान गरे आफ्नो सम्मान र मान बढ्छ भन्ने भनाइ छ । तर, मोदी एक अहंकारी र आत्मप्रशंसामा रमाउने ब्यक्तिका रुपमा उनकै क्रियाकलाप देखाएको थियो । अबको परिस्थितिले उनको साच र ब्यवहारमा पक्कै पनि केही परिवर्तन ल्याउनेछ ।
सनातन हिन्दू धर्म स्वभाविक रुपले उदारवादी र सबैको अस्तित्व स्वीकार्ने धर्मसंस्कृति हो । उनी सनातन हिन्दु धर्म संस्कृतिका कट्टर अनुयायी भएकाले सबैप्रति नरम र उदार देखिनु पथ्र्यो । प्रधानमन्त्रीको हैसियतमा उनले सबै धर्म संस्कृतिका मानिसलाई समान सोच र व्यवहार गर्नु उनको नैतिक र संवैधानिक जिम्मेवारी हो ।
तर उनले आमचुनावअघि अल्पसमुदायका मुस्लिम समुदायमाथि अनेक आरोप लगाएर सार्वजनिक रुपमा भाषण गरे । हिन्दू मतदाताहरूलाई पनि उनको यो सोच र ब्यवहार पाच्य हुन सकेन ।
हिन्दूहरूको बाहुल्यता भएको उत्तर प्रदेश राज्यमा भारतीय जनता पार्टीले यस पटक नराम्रो हार बेहोर्नु पर्यो । भारतीय जनता पार्टीले चुनाव हार्नुमा धेरै कारणमध्ये मोदीमा भएको अहंकारी सोच र अरुलाई घृणा गर्ने विचारका कारण हो भन्ने अर्थ लगाएका छन् ।
भारत उदीयमान अर्थतन्त्र भएको विश्वको ठूलो देशमध्ये एक हो । यति विशाल देशको प्रधानमन्त्रीमा यस्तो अहंकारी सोचविचार र ब्यवहार आउनु भारतीय सभ्यता, लोकतन्त्र र लोकतान्त्रिक संस्कारको हिसाबले पनि उचित देखिँदैन । उनका यस्तै सोच र विचारका कारण अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतीय लोकतन्त्रको स्तर खस्कन थाल्यो भनेर टिकाटिप्पणी हुन थालेको थियो ।
नेपालका केही नेताहरूले आफूलाई महान र भगवानको अवतार ठाने झैँ मोदीले पनि आफूलाई पछिल्लो समयमा भगवानको विशेष अवतारको रुपमा प्रस्तुत गर्न पुगे । यसको परिणाम जनताले उनलाई साधारण मानव हौँ भन्ने पाठ पढाईदिएका छन् ।