प्रचण्डको भारत भ्रमण : अघिल्लो पटक मुर्रा भौंसी ल्याएका प्रचण्डले यो पटक के ल्याए ?

सोमबार, २८ जेष्ठ २०८१

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणपछि फर्किदा अघिल्लो पटक मुर्रा भैंसी ल्याएको विषय निकै चर्चित बनेको थियो । यो पटक पनि तेश्रो पटक भारतको प्रधानमन्त्री बनेका समकक्षी नरेन्द्र दामोदर मोदीलाई बधाई दिन नयाँ दिल्ली पुगेका प्रचण्डले के ल्याएका होलान ? यो धेरैको चासोको विषय बनेको छ ।

प्रधानमन्त्री प्रचण्डले यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिएर आएका छन् । मोदी समय मिलाएर नेपाल भ्रमणमा आउने बचन दिएको प्रचण्डको भनाई छ । सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मोदीलाई निम्तो दिएको र जवाफमा मोदीले समय मिलाएर भ्रमण गर्ने बचन दिएको बताए ।

मोदिसँगको भेटमा उनले नेपाल भ्रमणको निम्तो दिनुका साथै विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनका विषयमा छलफल मात्र भएको बताए । प्रधानमन्त्री प्रचण्डले सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भएको बताए ।

उनले डा. एस. जयशंकरसँगको भेटमा नेपाल र भारतबिच व्यापार विस्तार लगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक कुराकानी भएको बताए । उनले भने, ‘नरेन्द्र मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबिच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भयो । मैले मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु । उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ ।’