काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै उच्च, यस्तो छ मौसमी अबस्था

बिहिबार, ३१ जेष्ठ २०८१

काठमाडौँ – काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार  बिहानको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१.८ डिग्री सेल्सियस देखिएको हो।

‘उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै उच्च न्यूनतम तापक्रम हो’, महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘यसअघि गत मे २५ तारिखमा न्यूनतम तापक्रम २१.६ डिग्री सेल्सियस देखिएको थियो, जुन उपत्यकाका लागि त्यसबेलासम्मकै उच्च न्यूनतम तापक्रम थियो, आज त्यसभन्दा पनि माथि उक्लिएको हो।’

मौसमविद्का झाका अनुसार राति आकाशमा डम्म बादल लाग्यो तर पानी परेन भने भोलिपल्ट बिहान न्यूनतम तापक्रम बढ्छ।तर राति आकाश सफा भयो भने न्यूनतम तापक्रम घट्छ। रातिको बादलले बर्कोको काम गर्ने मौसमविद् बताउँछन्।

‘दिनभरि घामले तातिएको जमिनको तापक्रम राति बादलले छेक्ने भएकाले त्यो बाहिरिन पाउँदैन’, उनले भने, ‘जसले गर्दा राति गर्मी हुन्छ र बिहान न्यूनतम तापक्रम बढ्छ।’उनका अनुसार आज बिहान न्यूनतम तापक्रम बढी देखिनु भनेको अघिल्लो राति बढी गर्मी हुनु हो।

मौसम महाशाखाको विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३४.३ डिग्री सेल्सियस छ। यस वर्ष अहिलेसम्म उपत्यकाको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियससम्म पुगेको छ।

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई अधिकतम र सबैभन्दा कम तापक्रमलाई न्यूनतम तापक्रम भनिन्छ। न्यूनतम सामान्यतया बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुने गर्छ।