पार्टी छाडेर अन्यत्र गएका कार्यकर्तालाई कांग्रेसमा फर्कन नेता कोइरालाको आग्रह
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेकाले बिभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरुलाई कांग्रेसमा फर्कन आग्रह गरेका छन । नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै कोइरालाले पार्टीमा निष्क्रिय भएर बसेका नेताहरूलाई समेत सक्रिय हुन आग्रह गरे ।
कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरु सक्रिय भएको बताउँदै कोइरालाले कांग्रेस जटिल मोडमा पुगेको बताएका छन् । कोइरालाले राष्ट्रियता र लोकतन्त्र बचाउँन कांग्रेस मात्रै सक्षम भएको बताउँदै अब बलियो कांग्रेसको आवश्यकता रहेको बताए ।
कोइराला भने, ‘यतिबेला कांग्रेसको घर कमजोर भएको छ । पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता पर्यो।’ जे कारणले पार्टी छाडेको भए पनि अब सबै तिक्तता बिर्सेर पार्टीमा फर्कन कोइरालाले सबैलाई आग्रह गरे । ‘हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ, सबैले आ–आफ्नो कमि कमजोरी स्विकार्दै पार्टी बलियो बनाउन लागौं’, कोइरालाले भने ।
उनले गुटबन्दीले पार्टी थिलथिलो बनेको बताए । गुटबन्दीकै कारण योग्य र ईमान्दार मानिसहरु पछाडि पर्दै गएको उनले बताए ।
