७ महिनादेखि कालिकोटका एक युवक बेपत्ता, खोजिदिन परिवारको अपिल

आइतबार, ३ असार २०८१

कालिकोट – जिल्लाको पलाँता गाउँपालिका वडा नम्वर ६ गोठालीचौर घर भएका एक युवक हराएको ७ महिना पुग्यो । उनको अहिलेसम्म मरे ज्यूदोको अत्तोपत्तो नभएपछि परिवारका सदस्यहरु निकै चिन्तीत भएका छन् । नेपालको काँकडभिट्टाबाट भारत छिरेका ३२ का देवि विक नेपाल भारतको सीमा क्षेत्र भारतको सिलगढीबाट हराएका हुन् । २०८० साल पुस ७ गतेबाट सम्पर्क विहिन भएका विकको खोजी गरिदिन परिवारले सबैलाई आग्रह गरेको छ ।

उनी हराएको ७ महिना वितिसक्दा पनि मरे ज्युदोको खवर केही नपाएपछि ५० बर्षिय बुवा जैविरे विकसहित उनको परिवारका सदस्यहरु निकै चिन्तीत भएका छन् । जैविरे छोरा हराएको चिन्ताले राम्रोसंग खाना खान र सुत्न सकेका छैन । उनको छोरा हराएको घटनाले संधै आँखा रसाउने गरेका छन ।
चिन्तै चिन्ताको जीवन विताईरहेका बुवा जैविरेले फेरी पनि छोरा घर फर्किन्छ की ? कतैबाट घर आउँछकी ? भन्ने आसा गरेका छन । तर उनले ७ महिनासम्म गरेको आसा विस्तारै निरासामा परिणत हुन थालेको छ ।

जैविरेका छोरा देवी व्यापारको शिलशिलामा भारतको सिलगढी पुगेका थिए । उनी बुवा र गाउँघरका आफन्तसँग २०८० सालको मंसिर महिनामा शिलगढी गएका हुन । त्यहाँ पुगेको करिब १ महिना पछि देवी बुवा र आफन्तबाट सम्पर्क विहिन भएका थिए । बुवा जैविरेले भने ‘कपडा बेच्ने व्यापारको सिलसिलामा छोरासहित हामी गाउँका दाजु भाईहरु सिलगढी गएका थियौ । त्यो काँकटभिट्टा नजिकै पर्छ, त्यहाँ गएको करिब १ महिना भएको थियो, एउटा गलैचा काम्लो बोकेर पुस ७ गतेको विहान छोरा निस्कीएको हो । तर फेरी डेरामा फर्किएन । मैले रक्सी नखानु भनेको थिए । रक्सी नखानु भनेकै कारण सामान्य बोला बोल भएको थियो । त्यही कारणले १० दिनसम्म उ मबाट अलग भएर सुत्यो । खाना पनि अलग खायो । उ डेरामा फेरी फर्किएन । म निकै चिन्तीत छु ।’

बुवा जैविरेले छोरा हराएको कुरा थाहा पाएपछि भारतीय प्रहरी समक्ष जानकारी गराएर खोजी गरिदिन आग्रह गरेको बताए । तर उनका अनुसार प्रहरीले हामी खोजी गरिदिन्छौ, बुवा चिन्ता नगर्नहोस, भनेका थिए । बुवा जैविरेले काँकटभिट्टा प्रहरी चौकीमासमेत खवर गरेर छोरा खोजिदिन आग्रह गरेको बताए । जैविरेले भने ‘हराएको छोराको १० बर्षको एक छोरी, ६ बर्ष र ३ बर्षको २ छोरा छन, बुहारी छ । उनीहरु रोइरहेका छन । अहिलेसम्म खवर छैन । हामी सबै परिवार चिन्तीत छौ ।’

जैविरेका ३ छोरा र चार छोरी मध्य हराएका छोरा देवी विक माईला हुन । जैविरेले हराएका छोराको बारेमा कोही कसैले खवर पाएमा जानकारी दिन अपिल गरेका छन । उनले खवर पाउने मान्छेहरुले नजिकको प्रहरी कार्यालय वा ९८६३१४४०६० र ९७६७४५५१७१ मोवाईल नम्वरमा खवर गरिदिनसमेत अनुरोध गरेका छन ।