भैरहवा क्याम्पसका तिवारीलाई विद्यावारिधीको उपाधी
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयमा २७ बर्षदेखि गणित विषय अध्यापनरत पिताम्बर तिवारीले विद्यावारिधी उपाधि हासिल गर्नु भएको छ ।
उहाँले गणित विषय अन्तर्गत क्वान्टम क्यालकुलसको नयाँ विकास र प्रयोग” शिर्षकमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी उपाधि हासिल गर्नु भएको हो ।
उनको विद्यावारिधी सोध अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालय, गणित केन्द्रीय विभागका प्राध्यापक डा. चेतराज भट्ट सोध निर्देशक र साउथ एसियन विश्वविद्यालय नयाँ दिल्लीका प्रा; डा. पंकज जैन सहनिर्देशक थिए ।
हाल त्रिवि अन्तर्गतको भैरहवा वहुमुखी क्यापसमा उपप्राध्यापक तहमा कार्यरत तिवारीले त्यसअघि स्याङ्गजाको वालिङ्गस्थीत पाइनिज बोडिङ्ग स्कुलमा अध्यापन गराउदै आएका थिए ।
वालिङ्गकै पुर्णामृत उच्च माविमा विद्यालय शिक्षा लिनु भएका तिवारीले प्रविणता प्रमाणपत्र तह र स्नातक तह वालिङ्ग वहुमुखी क्याम्पसमा र स्नातकोत्तर तह त्रिवि गणित केन्द्रीय विभागमा अध्ययन गरेका हुन् ।
उनको जन्म वालिङ्गमा नामदेव तिवारी र स्वर्गिय डिला कुमारी तिवारीको माइला छोराका रुपमा २०२७ मा भएको हो ।
तिवारीकी श्रीमती अरुणा तिवारी भूसाल पनि भैरहवा बहुमुखी क्याम्पसमै अध्यापनरत हुनुहुन्छ भने छोरा अपिल तिवारी र छोरी एलिशा तिवारीले चिकित्सा शिक्षा अध्ययन गरेका छन् ।