नेकपा निकट अनेमसंघ (क्रान्तिकारी) को मधेश प्रदेश भेला सम्पन्न, संयोजकमा प्रमिला सी

बिहिबार, ७ असार २०८१

बर्दीबास – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को मधेश प्रदेश स्तरिय भेला सम्पन्न भएको छ। बिहिबार नेकपा मधेश प्रदेश कार्यालय बर्दीबासमा सम्पन्न भेलाले प्रमिला सीको संयोजकत्वमा ९ सदस्सीय  कार्यसमिति गठन गरेकाे छ ।

प्रमिला सीको अध्यक्षतामा सम्पन्न भेलामा नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इञ्चार्ज अनिल सीको प्रमुख आतिथ्यता रहेको थियो। नेता अनिल सीले भेलालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै दलाल पुजिवादले महिलाहरुमाथि शोषण उत्पीडन र दासत्व लादिरहेकाले सम्पूर्ण महिलाहरुलाई दलाल पुँजीवादले लादेको उत्पीडनबाट मुक्त गर्न आम उत्पीडित महिलाहरुले ससक्त प्रतिरोध गर्नुपर्ने बताए।

उनले भने, ‘दलाल पुँजीवादले महिलाहरुलाई सिमित घेराभित्र राखेर शोषण गरिरहेको छ, कमसल दर्जाको नागरिकको रुपमा हेरिरहेको छ। नेपाली महिलाहरुलाई त्यसबाट मुक्त गर्दै सम्मानजनक महिला मैत्री समाज निर्माण गर्ने एकमात्र आधार समाजवाद हो।”

रामकुमारी सीको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा नेकपाका पोलिट ब्युरो सदस्य देवनारायण सी, केन्द्रीय प्रतिनिधी समिति सदस्यहरु शोभा सी, फिरोज सी र सहिद बच्चुकी बहिनी मिना पौडेल लगायतको आतिथ्यता रहेको थियो।

भेलामा अम्बिका सी, सरिता राउत, रामदुलारी सी, सविता सी, सावित्रा सी, उमा सी,   सीलमन्ती सी, प्रमिलादेवी चौधरी, सीतादेवी सी, कवितादेवी सी, मन्दिरा लामा, मोनिका सी, श्रीमाया सी,  सुनितादेवी सी, कमलादेवी महतो,  दानकुमारी मगर, मिनादेवी सी,   गौरीदेवी सी,पार्वती तामाङ लगायतको उपस्थिति रहेको थियो।

भेलालाई प्रमुख अतिथिसहित  देवनारायण सी, राजकुमारी सी,  फिरोज सी, शोभा सी लगाएतले सम्बोधन गरेका थिए।  सम्बोधन गर्ने सबै वक्ताहरुले सम्मानजनक महिला मैत्री समाज निर्माण गर्ने  एकमात्र आधार नेपाली विशेषताको समाजवाद  समाजवाद नै भएकोमा जोड दिएका थिए।

मधेश प्रदेश स्तरीय महिला भेलाले संयोजक प्रमिला सी, सह-संयोजक राजकुमारी सी, र कार्यसमिति सदस्यहरुमा अम्बिका सी, मन्दिरा सी, विना सी, भीममाया सी ,कान्ति सी, सुनिता सी लगायतको कमिटीलाई सर्वसम्मत चयन गरेको नेकपा मधेश प्रदेशले जनाएको छ।