यस्तो खतरनाक मनोवैज्ञानिक रोगका कारण स्कुलमा छात्राहरू काम्ने र मुर्छा पर्ने हुँदा रहेछन्
काठमाडौँ – गत साता अछामको ढकारी–१ स्थित विश्वज्योति आधारभूत विद्यालयमा अस्वाभाविक दृश्य देखियो। विद्यालयकी एक छात्रालाई बोक्सी लागेको भन्दै अन्य छात्रले धामी बनेर पिट्ने, भुत्ल्याउने, लछारपछार पार्ने गरे। अन्य विद्यार्थी र शिक्षकहरू रमिते बनेर बसे। अझ भूत हटाइदेऊ भनेर धामी गुहारे।
स्थानीय एक व्यक्तिले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडिओमा यो सबै दृश्य देखिन्थ्यो। शिक्षकहरूले पनि छात्रालाई कसैगरी निको नभएपछि उपचारका लागि यसो गरेको बताएका छन्। यस घटनाले विद्यार्थीहरूमा हुने मनोविकारजन्य (साइकोजेनिक) बिमारीबारे हाम्रा शिक्षालयहरूमा रहेको कमजोर जानकारीलाई दर्शाउँछ।
नेपालमा अनेकौँपटक विद्यालयहरूमा छात्राहरू एक्लै वा समूहमा मुर्छा पर्ने, काम्ने, देवीदेउता बक्ने गरेको खबर हामी सुनिरहन्छौँ।
यसलाई कन्भर्सन डिसअर्डर भन्ने गरिन्छ। यो मनोवैज्ञानिक कारणले उत्पन्न हुने समस्या हो। तर, यसको लक्षण भने शारीरिक रूपमा देखिन्छ। यो एक जनामा तथा समूहमा पनि यो समस्या देखिन सक्छ। समूहमा देखिने समस्यालाई मास कन्भर्सन डिसअर्डर भनिन्छ। सामान्यतयाः बेहोस हुने, हातगोडा फाल्ने, हिर्काउने, श्वासप्रश्वासमा गाह्रो हुने, देवीदेउता वा वायु चढेको भनेर बक्नेजस्ता समस्या लक्षण यस्मा देखिन्छ।
एक अध्ययनमा नेपालमा ४७ सय नयाँ मानसिक रोगका बिरामीमध्ये ५.७ प्रतिशतमा कन्भर्सन डिसअर्डरको लक्षण देखिएको थियो। त्यस्तै, पुरुषमा भन्दा महिलामा यो ५ गुणा ज्यादा पाइएको छ। खासगरी किशोरीहरूमा यो समस्या देखिएको छ। विद्यालयमा मास कन्भर्सनका घटनाहरू ज्यादा हुने गर्छन्।
तर, यसबारे ज्ञान नभएका कारण अनेक अन्धविश्वासयुक्त गतिविधि हुने गरेका छन्। सोही कारण धामीझाँक्रीको शरण पर्ने चलन छ।विगतमा यस्तो समस्यालाई ‘हिस्टेरिया’ भन्ने गरिन्थ्यो। तर, त्यो पदावली कलंकित भयो। र, त्यसको प्रयोग बन्द भएको छ।
यसबारे स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले मास कन्भर्सन डिसअर्डर उपचार तथा व्यवस्थापन पुस्तिका नै तयार गरेको छ। जसमा यो समस्याको लक्षण, कारण र व्यवस्थापनका उपायबारे विस्तृत चर्चा गरिएको छ।
यसको लक्षण व्यक्तिअनुसार फरक हुनसक्छ। धेरैलाई शारीरिक लक्षण देखिन्छ भने केहीमा भावनात्मक लक्षण पनि देखिन सक्छ। कन्भर्सन डिसअर्डरका लक्षणहरू निम्नानुसार छन्।
–छोप्ने छोप्नुभन्दा अगाडि धेरैमा टाउको दुख्ने, गह्रौँ महसुस हुने, चक्कर लाग्ने। यसलाई साइकोजेनिक फेन्ट भन्ने चलन छ। यो केही मिनेटदेखि घण्टौँसम्म देखिन सक्छ।
–छोपेको अवस्थामा सास लिन अप्ठेरो भएजस्तो देखिने, सास रोकिएजस्तो वा छिटोछिटो सास फेरेजस्तो देखिन सक्छ।
–छोप्दा हातखुट्टा, अररो हुने, ठटाउने, दोब्य्राउने, घाँटी बांगो बनाउने, कहिलेकाहीँ अरुलाई र आफैँलाई पनि हानि पुग्नेगरी हिर्काउन खोज्ने, कपाल लुछ्ने, घाँटी थिच्ने पनि देखिनसक्छ।
–अर्धबेहोस अवस्थामा बोल्ने, देउता लागेका, नाग लागेको, भूत लागेको भन्दै बक्ने, आफन्तलाई चिन्दिनँ भन्ने, पूजापाठ, शुद्ध हुनुपर्छ भन्नेजस्तो व्यवहार देखाउने।
–कतिपयमा बोली बन्द हुने, बोल्दा स्वर नआउने, साउती गर्ने वा लेखेर भन्नेजस्ता लक्षण पनि देखिन्छन्।
–हातगोडाका केही भाग छुँदा, थिच्दा थाहा नपाएको गुनासो गर्ने, एकपट्टिको भाग नचल्ने हुनसक्छ।
–आँखा अथवा कान कमजोर भएको गुनासो गर्ने।
–कुनै खास घटनासम्बन्धी स्मृति हराउने।
यसको कारण मनोवैज्ञानिक र सामाजिक कारणले अधिकांशमा यो समस्या देखिने गर्छ। वंशाणुगत मस्तिष्क तथा स्नायु प्रणालीका रसायन जैविक कारण हो भने सिकाइ, धारणा, सहने तरिका, बाल्यकालको आघात र दुर्व्यवहारजस्ता मनोवैज्ञानिक कारणले पनि यो समस्या देखिन्छ।