बिहेका लागि मेकअप गर्दैगर्दा पूर्वप्रेमीले गरे बेहुलीको हत्या
काठमाडौं – बिहेका लागि मेकअप गर्दैगर्दा पूर्वप्रेमीले बेहुलीको हत्या गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको झांसीमा बिहेका लागि शृङ्गार गरिरहेकी बेहुलीको पूर्वप्रेमीले हत्या गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेश राज्यको दतिया जिल्लाको सोनागिरि थाना क्षेत्र अन्तर्गत बरगाउँ निवासी २२ वर्षीय काजलको बिहे झांसीका राज नाम गरेका युवकसँग तय भएको थियो । झांसीकै निशा गार्डनमा वैवाहिक समारोह चल्दै थियो भने नातेदारहरू आउने क्रम सुरु भइसकेको थियो । जन्ती आउनुभन्दा केही अघि काजल बेहुलीको शृङ्गारका लागि बहिनी र केही साथीसँग ब्युटीपार्लर गएकी थिइन् । शृङ्गार अन्तिम चरणमा पुग्दै गर्दा ब्युटीपार्लरमा एक युवक फिल्मशैलीमा आइपुगे ।
ती युवकले काजललाई बाहिर बोलाए तर उनी गइनन् । त्यसपछि युवकले उनीमाथि गोली प्रहार गरे । काजललाई तत्कालै अस्पताल लगियो । काजललाई चिकित्सकले मृत घोषणा गरे । गोली प्रहार गर्ने युवक काजलकै पूर्वप्रेमी रहेको बताइएको छ । काजलकी बहिनी नेहाले भनिन्, ‘दिदी तयार हुँदै थिइ, यत्तिकैमा त्यो केटा आएर दिदीलाई बोलायो । दिदी बाहिर जान मानिन । सिसा फुटाएर भित्र पस्दै उसले दिदीलाई गोली हान्यो ।’
नेहाका अनुसार गोली हान्ने युवक उनीहरूकै गाउँ निवासी हो, जसको नाम दिपक हो । प्रहरीले गोली हानेर फरार भएका युवकको खोजी सुरु गरेको छ ।