शिक्षा मन्त्री श्रेष्ठको बोल्र्ड डिसिजनले एसईईमा एनजी ल्याएका विद्यार्थीहरु उत्साहित

शुक्रबार, १५ असार २०८१

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) फेल भएका विद्यार्थीका लागि खुशीको खबर छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड (फेल भएका) ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी छन् । मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

सोही अनुसार सम्बन्धित निकायलाई पत्राचार पनि गरिसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए । उनले भने ‘एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने भन्ने मन्त्रीस्तरीय निर्णय भएको छ । त्यहीअनुसार हामीले सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशनसहित पत्राचार गरिसकेका छौं ।’ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा परेका छन् । यो संख्या परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हो । बोर्डले लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक हुने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ ।

निर्देशिकामा दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था छ । तर, ठूलो संख्याका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन नपाउने भएपछि मन्त्रालयले दोस्रो पटक निर्देशिका संशोधन गर्ने र सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो ।

यसअघि निर्देशिकामा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले अर्को वर्ष सबै विषयमा परीक्षा दिनुपर्ने व्यवस्था रहेको थियो । गत वर्ष निर्देशिका संशोधन गर्दै दुईभन्दा बढी विषयमा एनजी लागेकाले अर्को वर्ष परीक्षा दिनुपर्ने तर एनजी लागेका विषयमा मात्रै दिनुपर्ने व्यवस्था गरिएको थियो । यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।