यी हुन् प्रचण्डले १८ महिनामा गरेका सम्झन लायक कामहरु
काठमाडौँ – १८ महिनाअघि संसदबाट विश्वासको मत लिँदा झण्डै शतप्रतिशत मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अब भने अल्पमतमा परेर पद गुमाउनुपर्ने अवस्थामा आइपुगेका छन् । १८ महिनाको अवधिमा प्रचण्डले चारपटक विश्वासको मत जितेका थिए । यदि एमाले र कांग्रेसबीच सोमबार राति भएको सहमति कार्यान्वयनमा गएमा प्रचण्डसँग राजीनामा दिने कि पाँचौँपटक विश्वासको मत परीक्षण गर्ने दुई विकल्प खुला छन् ।
दुई ठूला दल मिलिसकेको अवस्थामा प्रचण्डले सदनबाट विश्वास गुमाउने पक्का छ । १० पुस २०७९ मा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । यो १८ महिनामा प्रधानमन्त्री प्रचण्डले केही सम्झनलायक काम गरेका छन् भने केही काम आलोचित पनि भए ।
भुटानी शरणार्थीको अनुसन्धान भयो
प्रचण्ड नेतृत्वको सरकारले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह पक्राउ गरेको थियो, जसमा कांग्रेसका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका सचिव टोपबहादुर रायमाझी, तत्कालीन सचिव टेकनारायण पाण्डे, बेचन झा, एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा, रायमाझीका छोरा सन्दीप रायमाझीलगायतका उच्च व्यक्तिहरू पक्राउ गरेको थियो ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा फिर्ता
बाँसबारी छालाजुत्ताको जग्गा फिर्ता गर्नु यो सरकारको अर्को उपलब्धि हो । ४२ वर्षदेखि चौधरी ग्रुपले हडपेको जग्गा सरकारले चैतमा सरकारको नाममा फिर्ता ल्याएको थियो । चौधरी ग्रुपले हडपेको १० रोपनी जग्गा सरकारले आफ्नो नाममा ल्याएको छ ।
बालमन्दिरको जग्गा फिर्ता
काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको बाल मन्दिरको जग्गा कौडीको भाउमा निजी शैक्षिक संस्था बृहस्पति विद्या सदन ९विद्यालय० लाई लिजमा दिने गरी भएको विवादित सम्झौता खारेज गरेको थियो । संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी, शक्ति केन्द्र र स्वार्थ समूहको योजनामा २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई २१३१ सालसम्मका लागि लिजमा दिने गरी भएको सम्झौता खारेज भएको हो ।
सुनकाण्डमा आफ्नै पार्टीका उपाध्यक्ष पक्राउ
सुनकाण्डमा नाम जोडिएपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका थिए । महरालाई कपिलवस्तुबाट पक्राउ गरी प्रहरीले सीआईबी पुर्याएको थियो । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोहीअनुसार उनी पक्राउ परेका थिए ।
महराले आयोगमा गएर बयान पनि दिएका थिए । महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा अहिले पनि जेलमा छन् ।
राष्ट्रियसभा अध्यक्ष
प्रधानमन्त्री भएका प्रचण्डले सबै ठाउँमा भागवण्डा गर्दा छोड्दै आएको आरोप लाग्ने गरेको थियो । फरकफरक समयमा गठबन्धन गर्दा राष्ट्रपति कांग्रेसलाई, सभामुख एमालेलाई दिएका प्रचण्डले राष्ट्रियसभामा अध्यक्ष माओवादीका नेता नारायण दाहाल बनाएका छन् । दाहाललाई पनि नबनाएको भए माओवादीको संवैधानिक परिषद्मा प्रतिनिधित्व नै हुँदैनथ्यो ।