प्रधानमन्त्रीलाई एमालेले भन्यो, ‘अल्पमतमा परेको मान्छेले दायाँबायाँ नगर्नु’
काठमाडौं – नेकपा एमालेले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन सरकारलाई ध्यानाकर्षण गराएको छ ।
बिहीबार एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा नेकपा एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न र नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गरिएको छ ।
पोखरेलको विज्ञप्तिमा संसद्का दुई ठूला दलहरु एमाले र कांग्रेस मिलेर केपी ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर एमालेका मन्त्रीहरुले राजीनामा समेत दिइसकेको उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने काम नगर्न र नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ ।