यसरी थाहा पाउनुहोस् पहिरो आउन लागेको
काठमाडौँ – गत शुक्रबारदेखि परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा बाढीपहिरो गइरहेको छ। धनजनको क्षतिसँगै कतै बस्ती नै डुबानमा परेका छन्। वर्षाको समयमा तुलनात्मक रूपमा पहाडी भेगमा पहिरोको जोखिम बढी हुन्छ । पहिरोले खोडपे–बझाङ जयपृथ्वी राजमार्ग,बागलुङ–बेनी–जोमसोम सडक लगायत राजमार्ग पहिरोले अवरुद्ध भएको छ।
यता, काठमाडौँ उपत्यकाभित्रको वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा पानीको बहाब बढेपछि बस्तीतिर छिरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोका विभिन्न पूर्व संकेतहरु पाउन सकिन्छ।
पहिरो आउन लागेको कसरी थाहा पाउने रु यस्ता छन् पूर्व संकेतहरू
पहिरो आउन लागेको कसरी थाहा पाउने ?
१. घर–आँगन, बस्ती वरिपरि चिरा परेको देखिनु ।
२ जमिनबाट कटकट गर्ने आवाज आउनु ।
३ रुख र बिजुलीका पोलहरू ढल्किएको देखिनु ।
४ पानीका मूलहरू अस्वाभाविक रूपमा सुक्नु अथवा मूलहरू बढ्नु, नयाँ ठाउँमा मूलहरू देखापर्नु र भइरहेका मूलबाट धमिलो पानी आउनु ।
५ भिरालो जमिनबाट ढुंगा, माटो खस्नु ।
६ ठाडो खोल्साहरूमा एक्कासि बहाव रोकिनु । माथिपट्टि पहिरो खसेर थुनिएर रोकिएको हुनसक्छ ।
७ घरका झ्यालढोका एक्कासि बन्द गर्न र खोल्न अप्ठ्यारो हुनु ।
८ घरका भित्ता र भुइँमा चिराहरू देखिनु ।
९ बस्तीभन्दा तलपट्टि ठूलो खोला अथवा नदी छ र त्यसले सक्रिय रूपमा जमिन कटान गर्न लागेको छ भने अब पहिरो जाँदै छ भनेर बुझ्नुपर्छ । र, तत्काल सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन जरुरी हुन्छ ।
पहिरो आउन नदिन पूर्वतयारी कसरी गर्ने ?
१. बर्सातभन्दा अगाडि नै भेलपानीलाई बस्तीनजिक अथवा कमजोर भू–भागमा एकत्रित नगरेर सुरक्षित ठाउँबाट त्यसलाई निकास दिने ।
२. बर्सातअगाडि घर वरपर साना कान्लाहरूमा चिराहरू देखिए चिम्टाइलो माटो लगेर त्यसमा खाँदेर पुर्ने । सम्भव भएसम्म त्यसमा पानी छिर्न नपाओस् भनेर त्रिपाल वा प्लास्टिकले छोप्ने ।
३. पुरानो पहिरो गएका स्थानमा बस्ती नबसाउने ।
४. नदीनालाको पानीको बहावलाई जमिन कटान हुन नदिने गरी व्यवस्थापन गर्ने । यसमा विभिन्न इन्जिनियरिङ डिजाइन पनि पर्छन् ।
५. जथाभावी डोजर, एक्साभेटर प्रयोग नगर्ने ।
६. भिरालो डाँडा वा पहाडको ठ्याक्कै मुनि बस्ती नबसाल्ने ।
प्राधिकरणले यी संकेत पाउने बित्तिकै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। त्यस्तै,प्राधिकरणले यी संकेत देखिएमा सम्बन्धित वडा र प्रहरीलाई जानकारी दिन पनि आग्रह गरेको छ।