चार दिनमै नयाँ गठबन्धनको जग हल्लियो

बुधबार, २७ असार २०८१

काठमाडौँ – केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएसँगै प्रदेशमा बनेको नयाँ समिकरणमा खटपट देखिएको छ।  जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिश सिंहले कांग्रेसलाई सहमति अनुसारको मन्त्रालय दिन आनाकानी गरेपछि खटपट सुरु भएको हो।

सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टी तयार भएपछि मधेशका मुख्यमन्त्री सिंहले माओवादीसहित चार दलका मन्त्रीलाई बर्खास्त गर्दै असार २२ गते नयाँ समिकरणबाट विश्वासको मत लिएर मुख्यमन्त्री भएका थिए। तर, विश्वासको मत लिएको चार दिन भइसक्दा पनि मुख्यमन्त्री सिंहले कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन सकेका छैनन् । नयाँ गठबन्धनको प्रमुख साझेदार कांग्रेस आफूसँग भएको सहमतिअनुसार मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय दिन नमानेको भन्दै सरकारमा सहभागी हुन राजी भएको छैन । त्यही कारण मुख्यमन्त्री सिंहले सरकार विस्तार गर्न सकेका छैनन् ।

सहमति अनुसार कांग्रेसले अर्थसहित चार मन्त्रालय पाउने सहमति भएको थियो । तर, विश्वासको मत पाएपछि मुख्यमन्त्री सिंहले सहमति कार्यान्वयन गर्न अनाकानी गरेको कांग्रेसको आरोप छ । यस्तै लोसपाले गृह मन्त्रालयसहित दुई मन्त्रालयमा दाबी गरेको छ । तर, मुख्यमन्त्री सिंह भने लोसपालाई एक मन्त्री र एक राज्यमन्त्री दिने पक्षमा छन् । सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने तयारी अघि बढाएपछि शतिसको पद धरापमा पर्ने भएको छ  । तयारीस्वरुप मंगलबार जसपा नेपाल, एमाले र लोसपासँग कांग्रेसले छलफल गरेको थियो ।

कांग्रेस स्रोतका अनुसार छलफलमा जसपा, एमाले र लोसपा कांग्रेस नेतृत्वलाई स्वीकार्न तयार छन् । मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअघि एमालेले पाएका चार मन्त्रालय यथावत रहने गरी माओवादी र नेकपा एसले सम्हाल्दै आएका अर्थ, ऊर्जा, सिँचाइ तथा खानेपानी, उद्योग वाणिज्य तथा पर्यटन र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कांग्रेसलाई र लोसपालाई गृह, सञ्चार तथा कानुन मन्त्रालय र राज्य मन्त्री दिने सहमति भएको छ ।

आइतबार भएको बैठकमा कांग्रेसले अर्थ मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएको थियो । मुख्यमन्त्री सिंहले भने पार्टीको हाइकमाण्डले अर्थ मन्त्रालय आफैँसँग राख्न निर्देशन दिएकाले दिन नसकिने बताएपछि कांग्रेस बैठक छोडेर हिँडेको बुझिएको छ ।कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्र सिंहले आफ्नो पार्टीले अर्थ मन्त्रालय नपाए जनमत नेतृत्वको सरकारमा सहभागी नहुने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने चेतावनी दिएको श्रोतको भनाई छ ।