पदच्युत भए प्रचण्ड, कसरी बन्छ नयाँ सरकार ?

शुक्रबार, २९ असार २०८१

काठमाडौं – प्रधानमन्त्री पु्स्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न विफल भएपछि पदमुक्त भएका छन् । अब नयाँ प्रधानमन्त्री नियुक्त नहुन्जेलसम्ममा उनी कामचलाउ हैसियतमा रहने छन्।

नेपालको संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका प्रचण्डले संसदबाट विश्वासको मत नपाएपछि १०० (३) अनुसार पदमुक्त भएका हुन् । त्यसपछि प्रधानमन्त्री प्रचण्ड स्वतः कामचलाउ हैसियतमा रहनेछन् र संविधानअनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुने छ।

यतिखेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको कुन धाराअन्तर्गत सरकार गठनको आह्वान गर्छन् भन्ने कुरा सर्वत्र चासोको रूपमा रहेको छ। कांग्रेस र एमालेका नेताहरूले नेपालको संविधानको धारा ७६ (२) अनुसार संसद्‍मा बहुमत प्राप्त गर्न सक्ने जुनसुकै दलको नेता प्रधानमन्त्री नियुक्त हुनुपर्ने बताउँदै आएका छन्।

माओवादी केन्द्रले भने ७६ (२) अनुसार बनेको प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि अब ७६ (३) अनुसार संसद्‍मा सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्नुपर्ने तर्क गर्दै आएको छ।

राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेपछि दलहरुले प्रक्रिया पुर्याएर आवेदन दिनेछन् । आवेदन चित्तबुझे पछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् ।