प्रमाण खोज्नेलाई प्रहरीले देखाइदियो रवि लामिछानेले सहकारी ठगेको प्रमाण
काठमाडौँ – रवि लामिछानेले सहकारी ठगेको प्रमाण माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई प्रहरीले प्रमाण देखाइदिएको छ । वीरगन्जको सानोपाइला सहकारीबाट सदस्य बनेर डेढ करोड रुपैयाँ ऋण लिएको प्रमाण प्रहरीले देखाएइ दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले पर्सा जिल्ला अदालतमा दायर गरेको मुद्दामा १ लाख जम्मा गरेर सहकारीको सदस्य बनेको भोलीपल्टै डेढ करोड ऋण लिएको प्रमाण मिसिलमा समावेश छ ।
यसअघि लामिछानेले सरकारी ठगी प्रकरणमा प्रहरी समक्ष आफू ५ वर्ष सञ्चारकर्ममा रहँदा कहीँकतै शेयरलगानी तथा ऋण लगानी नगरेको इन्कारी बयान दिएका थिए । गितेन्द्रबाबु (जीबी) राई र छविलाल जोशीबिचको सहकार्य र सम्बन्धबारे आफूलाई जानकारी नभएको पनि उनको भनाइ थियो ।
वित्तीय तथा आईटीमा जीबीले कसैको हस्तक्षेप नचाहने, कम्पनीमा उनैले ऋण उपलब्ध गराएको र नगद प्रवाह आवश्यक पर्दा असुरक्षित कर्जाका नाममा जीबीले नै नगद प्रवाहको कर्जा व्यवस्थापन गर्ने बयान लामिछानेको थियो । त्यही कारण लेखापरीक्षणमा पनि अध्यक्षको असुरक्षित कर्जा भनेरै उल्लेख हुने लामिछानेको भनाइ थियो ।
अनुसन्धानका क्रममा ५ वटा तथ्य अगाडि आएको दाबी गर्दै अभियोग पत्रमा ती प्रमाणहरू पनि पेस गरिएको छ । लामिछानेको नामको ००१–०१५४६१ ग्राहक नम्बर र खाता नम्बर ००१–००१–०२–००११६४२ को केवाईसी अध्ययनका क्रममा २०७८ साउन १८ गते सदस्य बनेको देखिएको छ । सदस्य बनेकै दिन उनले १ लाख रुपैयाँ खातामा जम्मा गरेको भेटिएको अभियोग पत्रमा उल्लेख छ ।
त्यसको भोलिपल्ट नै अर्थात् साउन १९ गते १२ प्रतिशत ब्याजदरमा २०८२ साउन १८ गतेसम्मका लागि बागमती ठेगाना उल्लेख गरी हकदारको नाम निकिता पौडेल र बुवाको नाम लालचन्द्र उल्लेख गरेको देखिन्छ । ऋण लिने दिने क्रममा लामिछानेको नाममा १९ गते नै सानोपाइलामा १ लाख रुपैयाँको शेयर कायम भएको पनि देखिएको छ ।
लामिछाने साउन १८ गते सानोपाइलाको सदस्य बनेको र १९ गते उनले गोर्खा मिडियाको खातामा जम्मा हुनेगरी भुक्तानी गरेको दाबी अभियोग पत्रमा गरिएको छ । उनको ग्लोबल आईएमई बैंकको खातामा २९ गते नै १ करोड ४७ लाख ४८ हजार रुपैयाँ जम्मा भएको देखिन्छ ।
यस्तै गोर्खा मिडिया नेटवर्कको बैंक खातामा भएको कारोबार विश्लेषण गर्दा सानो पाइलाबाट १० करोड ६ लाख रुपैयाँ ऋण लगानी भएको देखिनुबाट लामिछाने कसुरदार पुष्टि हुने दाबी अभियोग पत्रमा गरिएको छ । अभियोग पत्रमा नै सरकारी वकिलको कार्यालयले रविको सदस्यता, ऋण लिएको र जम्मा गरेको चेकलगायत विवरणसमेत राखेको छ ।
यसरी सानोपाइला सहकारीबाट लामिछानेको नाममा गोर्खा मिडिया प्रालिमा १ करोड ४७ लाख, जीबी र छविसहित संयुक्त रूपमा ३ करोड २ लाख रुपैयाँ गएको देखिएको दाबी अभियोग पत्रमा गरिएको छ । लामिछाने गोर्खा मिडिया प्राविको सञ्चालक प्रबन्ध निर्देशक र शेयर सदस्य रहँदा एकल र संयुक्त रूपले गरी १० करोड रुपैयाँ बढी अपचलन भएको र बिगो ११ करोड ५६ लाख रुपैयाँ दाबी अभियोग पत्रमा गरिएको छ । जुन मुद्दा आइतबार दायर भएको हो।