एमाले निकट व्यवसायीले प्यानलै बनाएर इक्यानको चुनाव लड्ने
काठमाडौं – नेकपा एमाले निकट शैक्षिक परामर्श व्यवसायी फ्यानलै बनाएर (इक्यान)को निर्वाचनमा होमिने भएका छन् । अर्को महिना हुने नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचनमा एमाले निकट प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान) देविदास भट्टराईको नेतृत्वमा निर्वाचनमा होमिने भएको हो ।
सोमबार बेलुका बसेको एमाले निकट व्यवसायीहरुको बैठकले १८ बटै सिटमा प्रतिष्पर्धा गर्ने सहमति गरेको छ । ‘हामीले पुरै प्यानलै चुनावमा होमिने निर्णय गरेका छौं । अध्यक्षमा कुरा मिलेको छैन । बिहीबार बैठक बसेर सबै उम्मेदवारको टुंगो लगाउँछौं ।’, बैठकमा सहभागी एक सदस्यले भने, ‘देविदास दाईको अध्यक्षतामा जाने लगभग सहमति भएको छ । टुंगिएको छैन ।’
देविदाससँगै इक्यानका पूर्वसचिव बिके श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएपछि सहमति नभएको बताइएको छ । पिक्यानबाट उपाध्यक्षमा कोषराज गीरी, पुष्पराज भट्टराई, महासचिवमा विकल्प पोखरेल, सचिवमा सुरज सिलुवालका नाममा सहमति भएको छ । अध्यक्षका प्रत्यसी श्रेष्ठलाई पनि उपाध्यक्षको उम्मेदवार बनाउने तयारी थालिएको बताइएको छ ।
‘बिहीबार बेलुका अर्को बैठक डाकिएको छ । त्यो बैठकले लगभग सबै उम्मेदवार टुंगो लगाउने छ ।’, उपाध्यक्षका प्रत्यासी कोषराज गीरीले भने, ‘हामी सकेसम्म एक्लै चुनावमा जाने प्रयास गरिरहेका छौं ।’ पीक्यानले एक्लै चुनाव लड्ने बताए पनि अध्यक्षमा देविदासलाई सहयोग गरे अरु पदका लागि छलफल गर्न सकिने बताइएको छ ।
इक्यानको आगामी अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष लक्ष्मण पौडेल (एड्यु), महासचिव दीपकराज भुसालले लामो समयदेखि व्यवसायीसँग भोट मागिरहेका छन् । यता अध्यक्ष शेषराज भट्टराई पनि सहमति हुँदा दोहोरिने चाहना राखिरहेका छन् । उपाध्यक्षमा बासुदेव दाहाल, रत्न भट्टराई लगायतका दर्जनौंले आकांक्षा राखेका छन् भने महासचिवका लागि बरिष्ठ सचिव भवनाथ हुँमागाई लामो समयदेखि कसरतमा छन् ।