इमरान खान जेलभित्रै मारिएको हल्लाले पाकिस्तानमा हंगामा
इमरान खान जेलभित्रै मारिएको खबरपछि पाकिस्तान अशान्त बनेको छ ।
विभिन्न भ्रष्टाचार मुद्दामा दोषी ठहर भई जेलमा रहेका पूर्वप्रधानमन्त्री खानलाई मारिएको हल्लापछि सर्वसाधारण आन्दोलनमा उत्रिएका छन् ।
उनको मृत्यु भएको पुष्टि नभएपनि स्थिति अनियन्त्रित बन्दै गएको पाकिस्तानी संचार माध्ययमहरुले जनाएका छन् । जेल प्रशासनले आफन्तलाई भेट्न नदिएपछि मारेको हुनसक्ने भन्दै हल्ला फैलिएको थियो ।
इमरान खानका तीन दाजुबहिनी (नोरीन, अलीमा र उस्मा) ले उनलाई कुटपिट गरिएको आरोप लगाउँदै जेलभित्र छिर्न र भेट्न अनुमति दिन माग गरेका छन् । उनीहरूले पछिल्ला केही हप्तादेखि भेटघाट गर्न नदिएको भन्दै खानको स्वास्थ्यबारे गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् ।
सन् २०२३ देखि विभिन्न भ्रष्टाचार मुद्दामा दोषी ठहर भई जेलमा रहेका ७२ वर्षीय खानले विगतमा पनि जेल प्रशासनबाट दुर्व्यवहार भएको गुनासो गर्दै आएका थिए । तर बुधबार खानको जेलभित्रै हत्या भएको खबर फैलिएसँगै स्थिति अनियन्त्रित बन्दै गएको छ । खानका हजारौँ समर्थकहरू उनलाई राखिएको रावलपिन्डोस्थित अदियाला जेलबाहिर पुगेका छन् ।
यो हल्लाको सुरुवात भने अफगानिस्तान टाइम्सनामक एक्स ह्यान्डलबाट भएको थियो । उक्त ह्यान्डलले विश्वसनीय स्रोतुलाई उद्धृत गर्दै इमरान खान रहस्यमय रूपमा मारिएको र शव जेलबाहिर सारिएको दाबी गरेको छ ।