गीता सिवाकोटीले पनि इक्यान अध्यक्षमा उम्मेदवारी दिने
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी अध्यक्षका लागि उपाध्यक्ष गीता सिवाकोटीले पनि उम्मेदवारी दिने भएकी छन् । आगामी पुस अन्तिम साता हुने निर्वाचनमा गीताले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी हुन् ।
उम्मेदवारी दिए इक्यानको इतिहासमा अध्यक्ष पदमा उम्मेदवारी दिने पहिलो महिला बन्नेछन् । इक्यानको २८ बर्षे इतिहासमा महिलाले नेतृत्व गर्ने अवसर नपाएको बताउँदै उनले यो पटक आफूले आँट गरेको बताइन् । उनले पहिलो पटक महिला नेतृत्वमा आउने अवसर प्राप्त भएको बताउँदै सबैलाई सहयोग गर्न अनुरोधसमेत गरेकी छन् ।
‘इक्यान चलाउन म सक्षम छु । विधान अनुसार अध्यक्ष बन्न मेरो योग्यता पनि पुगेको छ । यो पटक इक्यानको नेतृत्व महिलाले गर्नुपर्छ भनेर उम्मेदवारी दिदैछु ।’, मोटिभेट न्यूजसँग उनले भनिन्, ‘महिलाले इक्यान चलाउन पाउने अवसर आएको छ । सबैले एक पटक सहयोग गरेर इक्यान चलाउने अवसर दिनुहुन अनुरोध छ । सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएकी छु ।’
सिवाकोटीलाई राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)बाट इक्यान फर्किएको टिमले सहयोग गर्ने छ । नेकाबाट फर्किएका टिमको नेतृत्व गर्दै इक्यानका पूर्वउपाध्यक्ष सरोज बस्नेतले सिवाकोटीलाई सहयोग गर्नुपर्ने बताए । ‘गीता जी लोकतान्त्रिक प्यानलको उम्मेदवार पनि हो । यो भन्दा बढी उहाँलाई नेकाबाट फर्किएको टिमले साथ दिएको छ ।’, बस्नेतले भने, ‘इक्यानमा एक पटक महिलालाई अवसर दिनुपर्छ । उहाँलाई हामी लोकतान्त्रिक शैक्षिक परामर्श व्यवसायी र नेकाबाट फर्किएका व्यवसायीको साथ छ ।’
इक्यानको आगामी अध्यक्षका लागि अर्का उपाध्यक्ष लक्ष्मण पौडेल (एण्ड्यू), महासचिव दीपकराज भुसाल, पूर्वउपाध्यक्ष देविदास भट्टराईले पनि उम्मेदवारी दिने बताइरहेका छन् । इक्यानमा ७ सय बढी शैक्षिक परामर्श व्यवसायी सदस्य रहेका छन् भने ६ सय ५० बढीले मताधिकार पाउने छन् ।