काठमाडौंका मेयर बालेन शाहका समर्थकका लागि खुशीको खबर

शुक्रबार, १२ मंसिर २०८२

काठमाडौं— काठमाडौंका मेयर बालेन शाहका समर्थकका लागि खुशीको खबर छ ।

अब बालेन शाहका गतिविधि कृत्रिम बौद्धिकता अर्थात एआईमार्फत तयार पारिएका सामाग्रीमा हेर्न पाइनेछ ।

डेटा साइन्स, सफ्टवेयर डेभलपमेन्ट, डिजिटल गभर्नेन्सको अनुभव भएका युवालाई रोजगारी दिदै बालेनले महानगरको कामलाई सहज बनाउन लागेका हुन् । यसले बालेनको प्रचार थप व्यवस्थित हुनेछ भने समर्थकलाई प्रचार गर्न सजिलो हुनेछ ।

उनले ‘एआई कन्सोर्टियम’ टिम बनाउन लागेका हुन् । एआईको सहयोगमा महानगरको कामलाई सहज बनाउने उद्देश्यसहित बालेनले विभिन्न आइटी विज्ञ र अनुभवीहरुसँग आन्तरिक छलफल गरिरहेको बताइन्छ । उनले मंसिर १४ गते त्यस्ता व्यक्तिहरुसँग महानगरकै कार्यालयमा छलफल समेत आयोजना गरेको बुझिएको छ ।

डेटा साइन्स, सफ्टवेयर डेभलपमेन्ट, डिजिटल गभर्नेन्स लगायतका क्षेत्रमा काम गरिरहेका व्यक्तिलाई टिममा समेट्ने बालेनको तयारी छ ।

महानगरकै कतिपय जनप्रतिनिधिहरुले भने बालेनको उक्त कदमप्रति आशंका व्यक्त गरेका छन् । बालेनले महानगरको कामलाई सहज बनाउन लागेका हुन् वा निजी सामाजिक सञ्जाललाई व्यवस्थित गर्न एआई टिम बनाउन लागेका हुन् प्रश्न उठेको हो ।

०७९ मा मेयर निर्वाचित भएपछि बालेनमाथि साइबर सेना परिचालन गरेको आरोप लाग्दै आएको छ । सामाजिक सञ्जालमा आफूविरुद्ध बोल्ने व्यक्तिहरुमाथि उनले साइबर सेना परिचालन गरेर मनोवैज्ञानिक यातना दिएको कतिपयको आरोप छ । उक्त पृष्ठभूमिमा बालेनले एआई टिम बनाउन लागेपछि नागरिकमा आशंका पैदा भएको हो ।