चुच्चे नक्सासहितको नोट बजारमा आएपछि भारतमा रुवाबासी

शुक्रबार, १२ मंसिर २०८२

काठमाडौं—चुच्चे नक्सासहितको नोट बजारमा आएपछि भारतमा रुवाबासी चलेको छ ।

राष्ट्र बैंकले चुच्चे नक्सासहितको एक सयको नोट बजारमा ल्याएपछि भारतीय मिडियाहरुले आफ्नो देशका तीन ठाउँलाई नेपालको बताएको उल्लेख गर्दै समाचार लेखेका छन् । आजतकले भारतको विरोधको बाबजुद नयाँ नोटमा चुच्चे नक्सा राखेको उल्लेख गरेको छ भने हिन्दुस्तान टाइम्सले १०० रुपैयाँको नयाँ नोटमा भारतीय भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समावेश गरेको लेखेको छ ।

१०० रुपैयाँ दरको साविककै आकार तथा रङमा सङ्केत नं क २० ०००००१ देखि घ४० ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने स्लोगनसहित नयाँ नोट ११ मंसिर, २०८२ देखि चलनचल्तिमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

नोटको अग्रभागमा
१) नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको ।
२) नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको ।
३) नोटको मध्यभागमा नेपालको नक्सा रहेको ।
४) नोटको मध्यभागमा अशोक स्तम्भको चित्रका साथै ‘लुम्बिनी द वर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । साथै, अशोक स्तम्भसँगै दृष्टिविहीनहरूलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको ।
५) २ मि.मि. चौडा भएको रङ परिवर्तन हुने ९नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने० सुरक्षण धागो रहेको ।
६) नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको ।
७) नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा वि.सं २०८१ लेखिएको ।

नोटको पृष्ठभागमा
१) नोटको मध्यभागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको ।
२)नोटको मध्यभागमा एकसिडे गैंडाको माउ र बच्चाको चित्र रहेको ।
३) नोटको तल्लो भागको बोर्डरमा अङ्ग्रेजीमा रुपिज वान हन्ड्रेड लेखिएको ।
४ )नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर अङ्ग्रेजीमा २०२४ एडी लेखिएको ।