प्रभु बैंकका सीईओ अशोक शेरचन बैंकिङ कसुरको आरोपमा पक्राउ

आइतबार, १४ मंसिर २०८२

काठमाडौं— सीआईबीले अर्का भिआईपीलाई पक्राउ गरेको छ ।

बैंकिङ कसुरको अभियोगमा प्रभु बैंकका सीईओ अशोक शेरचनलाई पक्राउ गरिएको सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले बताएका छन् ।

सिआईबीले यसअघि प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । शेरचन नेकपा एमाले निकट बैंकर मानिन्छन् ।

भट्टचन र शेरचनको मिलेमत्तोमा घोटाला हुँदा बैंक निकै ठूलो समस्यामा छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्ध बैंकिङ सम्पतिमा हानीनोक्सानी पुर्‍याई बैंकिङ कसुर गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको थियो ।

गत चैत १ गते दर्ता भएको उजुरीमा शेरचनले बैंकको सम्पत्तिको अनाधिकृत परिचालन र अपचलन गरेको आरोप लगाइएको छ। उजुरीमा उनलाई पक्राउ गरी छानबिन र कारबाही गर्न माग गरिएको छ भने हिनामिना भएको सम्पूर्ण सम्पत्तिको साँवा, ब्याज र क्षतिपूर्तिसहित बैंकलाई फिर्ता गराउन आग्रह गरिएको छ।

उजुरीमा शेरचनले अर्बिट कन्सल्टेन्सीसँग मिलेमतो गरी प्रभु बैंकको कमलादी शाखामा अर्बिटको व्यक्तिलाई राखेर गोप्य बैंकिङ कारोबारमा अनाधिकृत पहुँच दिएको दाबी गरिएको छ। विद्यार्थीहरूले लिएको शैक्षिक कर्जा र स्वदेश तथा विदेशमा बुझाउनुपर्ने शुल्कको अनलाइन भुक्तानीमा बैंकले पाउने कमिसनलाई अर्बिटको नाममा बुक गरी आपसमा मिलेर हिनामिना गरेको आरोप छ। यसले बैंकको आम्दानीमा ठूलो नोक्सानी पुगेको उजुरीमा उल्लेख छ।

त्यस्तै, गुण ग्रुपको गुण सिनेमालाई दिइएको ७६ करोड ६६ लाख र सुगत इन्भेस्टमेन्ट प्रा.लि.लाई दिइएको १ अर्ब ५० करोड कर्जा वर्षौंदेखि साँवा र ब्याज नउठेको र त्यसतर्फ कुनै पहल नगरेको उजुरीमा भनिएको छ। गुण सिनेमाका मालिक राजेन्द्र शाक्यसँग मिलेमतो गरी विभिन्न शीर्षकमा कर्जा दिएर बैंकको सम्पत्तिमा हानीनोक्सानी पुर्‍याएको आरोप पनि लगाइएको छ।

उजुरीकर्ताले शेरचनले यी कार्यमार्फत बैंकिङ कसुर गरेको ठहर गर्दै उनलाई पक्राउ गरी आवश्यक छानबिन गर्न र हिनामिना भएको सम्पत्ति फिर्ता गराउन माग गरेका छन्। यो घटनाले प्रभु बैंकको वित्तीय पारदर्शिता र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। सीआईबीले उजुरीमाथि अनुसन्धान शुरू गर्ने तयारी गरेको स्रोतले जनाएको छ।